काठमाडौं । नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न सभाले अनुकूल श्रेष्ठको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरूमा आशंक एस.बी. राणा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभ राज श्रेष्ठ र क्षितिज ध्वज थापा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने लक्ष्य रहेको बताए।
सो कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा उद्यमीहरूको भूमिका नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण रहेको उल्लेख गरे। उनले नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्व नै निजी क्षेत्रको भविष्य भएको बताउँदै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्य थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। साथै, महासंघले एनवाईइएफसँग मिलेर स्टार्टअप, उद्यमशीलता विकास, वित्तीय पहुँच, मार्गदर्शन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता जनाए।
कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताए। उनले स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले एनवाईइएफ जस्ता संस्थाले नयाँ पुस्तालाई उद्यमशीलतामा प्रेरित गर्दै नेपालका अवसर र सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए।
कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा पनि छलफल भएको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्