Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

म्युनिखमा जुटे नेपाली विज्ञ र उद्यमी, नेपालको विकासमा डायस्पोराको भूमिका बढाउनेमा जोड

म्युनिखमा जुटे नेपाली विज्ञ र उद्यमी, नेपालको विकासमा डायस्पोराको भूमिका बढाउनेमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ सम्पन्न भएको छ। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाली रूट्सद्वारा आयोजित समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपालीको सहभागिता रहेको थियो। कार्यक्रममा व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान र नेपालसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

समिटको अध्यक्षता नेपाली रूट्सका अध्यक्ष डा।.कृतन गौतमले गरेका थिए। कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली रूट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा स्थापित हुँदै गएको बताए।

उनले नेपाल सरकारले परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य तथा नवप्रवर्तनका क्षेत्रमा नेपाली डायस्पोराको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रूट्स र एनआरएनएबीच अझ नजिकको सहकार्य आवश्यक रहेको बताए। नयाँ पुस्ताको आवश्यकता र सोच बुझ्न नेपाली रूट्सजस्ता संस्थाबाट सिक्न चाहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’को विमोचन गरेका थिए। उनले विश्वभर फैलिएका नेपाली विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिसकेको उल्लेख गर्दै उनीहरूबीच बलियो व्यावसायिक सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको बताए। उनका अनुसार संस्थाले विदेशमा रहेका नेपालीबीच सहकार्य अभिवृद्धि गर्नुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन साझेदारी विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वजस्ता समसामयिक विषयमा विशेषज्ञहरूले आफ्ना धारणा राखेका थिए। सहभागीहरूले व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकाले। छलफलमा नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्र सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र विश्वव्यापी सञ्जालमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा थप प्रभावकारी योगदान दिन सकिने धारणा व्यक्त गरिएको थियो।

त्यस्तै, नेपाल र विश्वभर रहेका नेपालीबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै भावी पुस्ताका लागि बलियो र दिगो समुदाय निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सहभागीहरूले विभिन्न क्षेत्रका नेपालीसँग अनुभव आदानप्रदान गर्नुका साथै संयुक्त परियोजना र सहकार्यका सम्भावनाबारे समेत छलफल गरेका थिए।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालन जस्ता नीतिगत विषयमा आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको आयोजकले जनाएको छ। साथै, नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकार र डायस्पोराबीच प्रभावकारी सहकार्य आवश्यक रहेको आवश्यकता औँल्याइएको छ।

आयोजक नेपाली रूट्सले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई एउटै सञ्जालमा जोड्ने र नेपालको विकाससँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit