Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

आजदेखि मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द

आजदेखि मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । मनसुन सक्रिय भएसँगै मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। मुहान क्षेत्रमाथिबाट पहिरो, गेग्रान र बाढीका कारण सुरुङभित्र माटो, ढुंगा तथा लेदो पस्ने जोखिम बढेकाले आयोजना अस्थायी रूपमा बन्द गरिएको समितिले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार नदीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुन सक्ने र सुरुङको संरचनामा असर पर्ने जोखिमका कारण पानी पथान्तरण रोकिएको हो।

उनका अनुसार निरन्तर वर्षापछि मुहान क्षेत्रभन्दा माथिको भ्रमाथाङ क्षेत्रमा रहेको ठूलो मात्राको गेग्रान र हेडवर्क्समाथिका पहिरो जुनसुकै बेला बगेर सुरुङमा पस्न सक्ने अवस्था छ। नदीमा पानीको बहाव बढेकाले कर्मचारीको आवतजावतसमेत कठिन भएको उनले बताए।

तिमल्सेनाले बाढीका कारण पानी अत्यधिक धमिलो हुँदा सुरुङको गेट पटक–पटक खोल्न र बन्द गर्नुपर्ने अवस्था आउन सक्ने, त्यसले सुरुङको संरचनामा असर पुर्‍याउने तथा सुरुङभित्र जमेको लेदो सफा गरी नियमित निरीक्षण गर्नुपर्ने भएकाले आयोजना बन्द गरिएको जानकारी दिए।

उनका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको छ। मनसुन अवधिमा सुरुङको सफाइ, मर्मत र निरीक्षणको कामसमेत गरिनेछ, किनभने विगत चार वर्षदेखि यी काम नियमित रूपमा हुन सकेका थिएनन्।

समितिले मनसुन समाप्त भएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा ल्याइने जनाएको छ। आयोजना बन्द रहे पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी विभिन्न वैकल्पिक स्रोतबाट उपभोक्तालाई खानेपानी वितरण गरिने समितिको भनाइ छ।

विसं २०७८ असार १ गते तथा सोही वर्ष साउन १६ र १७ गते आएको आकस्मिक बाढीले मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स, सडक पहुँचलगायत मुख्य संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता प्रत्येक वर्ष मनसुन सकिएपछि वैकल्पिक प्रणालीको सफाइ र मर्मत गरेर अस्थायी रूपमा काठमाडौंमा पानी आपूर्ति हुँदै आएको छ। गत असोज २६ गतेदेखि भने सुरुङमार्फत नियमित रूपमा पानी पथान्तरण भइरहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit