Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

आत्महत्याको विषयमा गम्भीर छलफल आवश्यक छ : गणेश कार्की

आत्महत्याको विषयमा गम्भीर छलफल आवश्यक छ : गणेश कार्की
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केवल औपचारिकतामा सीमित नभई यस्ता घटना दोहोरिन नदिन राज्य र संसदले जिम्मेवारी लिनुपर्ने बताए।

‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने। उनले कानुनका कारण समस्या सिर्जना भइरहेको भए त्यसको जिम्मेवारी कानुन बनाउने संसदले लिनुपर्ने बताए।

‘त्यो कानुन बनाउने कसले हो त? यही संसदले होइन? अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल खोइ?’ उनले प्रश्न गरे। सांसद कार्कीले आफू सत्ता पक्षको बचाउ गर्न नभई मानवीय संवेदनाको पक्षमा उभिएको स्पष्ट पारे। उनले मानिसको जीवनभन्दा ठूलो कुनै तर्क हुन नसक्ने बताए ।

‘मान्छेको जीवनभन्दा भारी तर्क अर्को कुनै पनि हुँदैन। कुनै पनि तर्कले गुमेको मान्छेको त्यो जीवन अन्त्य सही थियो भनेर कसैले दाबी गर्न सक्दैन। त्यो औकात मसँग पनि छैन, यो संसदसँग पनि छैन, राज्यसँग पनि छैन,’ उनले भने।

उनले गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी रहेको स्वीकार गर्नुपर्ने बताए। तर राज्यको संरचना अहिले मात्रै बनेको नभई विगतदेखि नै रहेको भन्दै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखे। सांसद कार्कीले घटनासँग जोडिएको जरिवाना लगायतका विषयमा मात्र केन्द्रित भएर बहस गर्नुले वास्तविक समस्या समाधान नहुने बताए।

‘१० हजार फाइन भनेर भ्रम फैलिरहेको छ। त्यो फाइन १० हजार हो कि होइन भन्नेमा मात्रै चासो भइरहेको छ। अझै बढी दुखान्त र भावनात्मक कसरी बनाउने भन्ने कुरा भइरहेको छ,’ उनले भने ।  उनले यस्ता घटनाबाट पाठ सिक्दै अर्को गणेश नेपाली बन्न नदिन संसदमा कानुन, राज्य व्यवस्था र सामाजिक अवस्थाबारे गम्भीर छलफल हुनुपर्ने बताए।

कार्कीले गणेश नेपालीप्रति पुनः श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो भागमा पर्ने गल्ती स्वीकार गर्ने बताए। ‘म मनैदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरा भागमा पर्ने गल्तीहरू स्वीकार गर्दछु,’उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit