काठमाडौं । पहाडी क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण देशका प्रमुख नदीहरूमा पानीको बहाव तीव्र रूपमा बढेको छ । महाकाली र सप्तकोसी नदीमा जलस्तर बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव बिहीबार मध्याह्न १२ बजे कोसी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ९ हजार ५१० क्युसेक पुगेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजका २८ वटै ढोका खोलिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि रातो बत्ती बाल्ने व्यवस्था रहेको छ।
यस्तै, कञ्चनपुरस्थित महाकाली नदीमा पनि पानीको बहाव उच्च भएको छ । नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासा शारदा ब्यारेजमा बिहीबार गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३० हजार ७३५ क्युसेक पुगेको जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।
बहाव बढेपछि नेपाल–भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । दुईपाङ्ग्रे सवारी र पैदल यात्राका लागि भने सुरक्षा अवस्थाको मूल्यांकन भइरहेको जनाइएको छ । नदी आसपासका बस्तीलाई सतर्क रहन र आवश्यक सुरक्षा तयारी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्