काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै रसुवामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मोदीले प्रधानमन्त्री शाहलाई फोन गरी बाढीपछि नेपालमा उत्पन्न अवस्थाबारे जानकारी लिँदै प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्। उनले विपद्को यस कठिन घडीमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्।
टेलिफोन संवादपछि मोदीले नेपाललाई सम्भव भएसम्म सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। उनले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीसँग आवश्यक समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग भएको कुराकानीबारे जानकारी दिँदै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको बताएका छन्।
उनले कठिन परिस्थितिमा भारत नेपालसँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै प्रभावित नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीबाट सडक, पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनासमेत प्रभावित भएका छन्।
















प्रतिक्रिया दिनुहोस्