काठमाडौं। चाडपर्व नजिकिँदै जाँदा सवारी साधन दर्ताको चाप बढेपछि त्यसबाट सेवाग्राही तथा अटोमोबाइल कम्पनीका प्रतिनिधिले भोगिरहेका समस्याबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ।
बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या तथा त्यसको समाधानका उपायबारे छलफल गरेको हो। छलफलका क्रममा महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारी साधन दर्ताको कामको चाप बढेको र उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए।
कम्पनीका प्रतिनिधिले आवश्यक कागजातसहित दर्ता प्रक्रियामा सहजीकरण गरिरहे पनि यातायात कार्यालयमा हुने नियमित प्रक्रिया र कर्मचारीमाथिको कार्यचापका कारण सवारी साधन दर्ता गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको नाडाले जनाएको छ। यस्तो अवस्थामा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन तत्काल समन्वय र सहजीकरणका लागि नाडाले प्रशासनसँग आग्रह गरेको हो।सो अवसरमा नाडाका सचिव तथा दुईपांग्रे सवारी साधन समिति सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिले भेट गरी दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए।
छलफलपछि प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी साधन दर्तामा देखिएका समस्याबारे सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक छलफल तथा समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा दुईपांग्रे सवारी साधन समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति थियो।















प्रतिक्रिया दिनुहोस्