काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका अवरोध हटाएर निर्माण कार्यलाई तीव्रता दिने पहल थालेको छ।
मन्त्रालयले निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजना यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्बन्धित आयोजना प्रमुखसँग छलफल गरी समस्या समाधानका लागि अन्तरमन्त्रालय समन्वय अघि बढाएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण लाइनलाई ऊर्जा प्रणालीको मुख्य आधारका रूपमा विकास गर्न निर्माणाधीन आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । बिहीबार मन्त्रालयमा आयोजना प्रमुखहरूलाई बोलाएर उनले निर्माणको अवस्था, देखिएका समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए। छलफलका क्रममा आयोजना प्रमुखहरूले प्रसारण लाइन निर्माणका क्रममा वन क्षेत्रका रुख कटानमा वन विभागबाट देखिएको अवरोध तथा सडक विभागबाट पोल र टावर सार्न पर्याप्त समय नपाउँदा काम प्रभावित भएको जानकारी गराएका छन्। मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी यस्ता समस्या समाधान गर्न थालेपछि निर्माण कार्यले गति लिन थालेको जनाएको छ।
मन्त्रालयका अनुसार, नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार निर्माणाधीन प्रसारण लाइनको वर्तमान अवस्था बुझ्न आयोजना प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिइएको हो। उनका अनुसार वन तथा सडक विभागसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालयबाट समन्वय भएपछि आयोजनाको काम अघि बढेको जानकारी आयोजना प्रमुखहरूले दिएका छन्। विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार ब्रिफिङमा सहभागी १२ वटै प्रसारण लाइन आयोजना यसै वर्षभित्र सम्पन्न हुने जानकारी दिइएको छ।छलफलमा तुम्लिङटार–सितलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगन्ज–नानपारा १३२ केभी, लालबन्दी–सलिमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौँडा–ढल्केबर ४०० केभी तथा कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुखहरूले कार्यप्रगति प्रस्तुत गरे।
इनरुवा–विराटनगर प्रसारण लाइनमा म्याद थपिए पनि ठेकेदारले काम अघि नबढाएपछि पेटी ठेकेदारलाई सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी समन्वय गरिएको छ। त्यस्तै, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको वनसम्बन्धी समस्या समाधान भइसकेको र आगामी कात्तिकसम्म आयोजना सम्पन्न हुने जानकारी दिइएको छ। ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार निर्माणाधीन प्रसारण लाइनमध्ये केही छ महिनाभित्र र बढीमा एक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने अवस्थामा छन्। प्रसारण लाइन सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा हुँदै आएको विद्युत् ट्रिपिङ अर्थात् पटक–पटक बत्ती जाने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
मन्त्री श्रेष्ठले निर्माणका क्रममा अन्तरमन्त्रालयसँग सम्बन्धित कुनै समस्या देखिए तत्काल जानकारी गराउन आयोजना प्रमुखहरूलाई निर्देशन दिए। प्रसारण लाइन ऊर्जा प्रणालीको आधार भएकाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक समन्वय र सहजीकरणका लागि मन्त्रालय तयार रहेको पनि स्पष्ट पारेका छन् ।















प्रतिक्रिया दिनुहोस्