सुर्खेत । भदौ २३ र २४ गते देशैभर चर्केको जेनजी प्रर्दशनबाट परिवर्तित राजनीतिक कोर्सका कारण कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनका लागि अन्योलमा परेको छ ।
जेनजी प्रर्दशनबाट तत्कालिन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ । आन्दोलनपछि आवश्यक निर्देशन र निर्णय अभावमा सरकारी कामकाजहरु लयमा फर्कन सकिरहेका छैनन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले प्रर्दशनका क्रममा आगजनी भएका भौतिक संरचना र कार्यालयको अनुगमन गरे पनि पुनः निर्माणमा जुट्न कुनै निर्णय लिन सकिरहेको छैनन् । जेनजी प्रर्दशनको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन् । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा भवन ध्वस्त भएको छ । बजेट अधिवेशन सकिएको प्रदेश सभाको बैठक सम्बन्धी छलफल नै अगाडि बढ्न सकेको छैन ।
दसैँमा घर गएका कतिपय प्रदेश सभा सदस्यहरुत अझै पनि फर्किएका छैनन् । कतिपय मन्त्रीहरु पनि सुर्खेत बाहिर रहेको अवस्थामा प्रदेश सरकार मातहतका कार्यालयका प्रमूख र कर्मचारी पनि उपस्थित नहुँदा विकास निर्माणका कामहरु प्रभावित भएका छन् । कतिपय कार्यालयहरु मर्मत गरेर सेवा सञ्चालन गरिए पनि आवश्यक सेवा प्रवाह हुन सकिरहेको छैन । आन्दोलन भएको केही दिनपछि मुख्यमन्त्री यामलाल कँडेलले क्षतिग्रस्त संरचनाको अनुभव गर्दै क्षतिभएका संरचनाको पुर्ननिर्माणका लागि छुट्टै योजना अगाडि बढाइने बताएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन ।
सरकारका मन्त्रीहरुले भने सरकारले गर्नु पर्ने काम गरिरहेको बताएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने मन्त्रिपरिषद् बैठक नबसे पनि सरकारले आफ्नो लयमा आवश्यक काम गरिरहेको बताए । मुख्यमन्त्रीसँग बजेट कार्यान्वयनबारे कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा निरन्तर छलफल भैरहेको उनको दाबी छ । ‘औपचारिक रुपमा मन्त्रिपरिषद् बैठक नबसे पनि सरकार आफ्नो लयमा काम गरिरहेको छ’ उनले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरु र सचिवहरुबीच बजेट तथा योजना कार्यान्वयनका लागि सरकार कसरी अगाडि बढ्ने भन्ने बिषयमा निरन्तर छलफल हुने गरेको छ ।’
भदौ ४ गते यता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छैन । आन्दोलनमा भएको क्षतीको विवरण संकलन भइसकेपछि अब त्यसको पुर्नर्निमाण र सरकारको योजना कार्यान्वयनका लागि कसरी अगाडि भन्ने विषयमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्ता समेत रहेका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिए ।

















प्रतिक्रिया दिनुहोस्