काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन पुनः नियुक्त भएका छन्।
कम्पनीको संचालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि दोस्रो कार्यकालको जिम्मेवारी दिने निर्णय गरेको हो । बिहीबार बसेको संचालक समितिको बैठकले महर्जनलाई थप एक कार्यकालका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेसँगै उनको नयाँ कार्यकाल आगामी जेठ १८ गतेदेखि लागू हुनेछ।
नेपाल इन्स्योरेन्समा यसअघि सन् २०२१ मा पहिलो पटक सीईओका रूपमा भित्रिएका महर्जनसँग बीमा क्षेत्रमा तीन दशक भन्दा बढीको लामो र परिपक्व व्यावसायिक अनुभव छ। उनले सन् १९९७ जनवरीदेखि भारत सरकारको पूर्ण स्वामित्वमा रहेको ‘जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’ को सहायक संस्था नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफ्नो करियरको सुरुवात गरेका थिए।
महर्जनले व्यवस्थापन संकायमा एमबीए र कानूनमा स्नातक तहको अध्ययन पुरा गरेका छन्। नेपाल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा समेत सफल रूपमा सीईओको जिम्मेवारी निभाइसकेका छन्। लामो अनुभव र व्यावसायिक दक्षता भएका महर्जनको पुनः नियुक्तिले नेपाल इन्स्योरेन्सको व्यवसाय विस्तार र रणनीतिक विकासमा थप उचाइ दिने विश्वास कम्पनीको छ।















प्रतिक्रिया दिनुहोस्