काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ । विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित एक कार्यक्रममा शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ती पुलको उद्घाटन गरेका हुन् ।
नुवाकोट सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्घाटन गरिएको उनको सचिवालयले जनाएको छ । निर्धारित समय अघिनै काम पूरा गरेकोमा निर्माण कम्पनीलाई समेत सम्मान गरिएको छ।
पुल उद्घाटनपछि मन्त्री दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरु लाई प्राथमिकता दिने बताए । अन्तरदेशिय पहुँच स्थापति गर्ने, बढी जनसंख्यालाई लाभ हुने, गाउँ र शहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनहरू आफ्नो प्राथमिकतामा रहने उनको भनाई छ। उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न आग्रह गरेका छन् ।

निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दहालले तिनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघि बढ्ने धारणा राखे । उनले गल्छी – त्रिशूली मैलुङ्ग –स्याफ्रुबेशी रसुवागढी सडक सडक, पासाङल्हामु राजमार्ग, मध्यपहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै देर्शैभरि तीव्र गतिमा निर्माण कार्य अगाडि बढाएको बताए । यस्तै, मन्त्री दाहालले अहिलेको सरकारलाई काम नगर्न छूट नभएको उल्लेख गर्दै विकाशलाई समृद्धिसँग जोडेर लैजान जरूरी रहेको र विकासको प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । यस्तै, नुवाकोटका नेताहरुले जिल्लमा अधूरा रहेका योजनाहरुलाई गति दिन मन्त्रीसमक्ष माग गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्