काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी र सकारात्मक रहेको बताएका छन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो संवादमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गरेका छन्।
उनले नेपाल र भारतले विगतका बाधा तथा अवरोधहरू पार गर्दै विकास–कूटनीतिको नयाँ युगलाई अँगाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर तथा निर्बाध कनेक्टिभिटीमार्फत दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको भनाइ छ।
लामिछानेले प्रगति, साझेदारी र पारस्परिक विश्वासमा आधारित नेपाल–भारत सम्बन्ध निर्माण गर्न दुवै देशसँग पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै ती सम्भावनालाई व्यवहारमा उतार्न राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
उनले नेपाल र भारतका नागरिकहरूको साझा समृद्धिका लागि आर्थिक, प्रविधि, पूर्वाधार तथा जनस्तरको सहकार्यलाई थप मजबुत बनाउन आवश्यक रहेको समेत बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि भेटपछि नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्य गर्न तयार रहेको बताएका थिए।

















प्रतिक्रिया दिनुहोस्