
काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने लक्ष्य राखेकाले नेपाली सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।
“हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ,” कम्पनीका अध्यक्ष सुब्रत धितालले भने । कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिसकेको उल्लेख जनाएको । लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने जनाएको हो ।
लामिनार टाईल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाईड टाईल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ । लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्