Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । वर्षायाममा परेको पानी निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।

विज्ञापन
Advertisement
Advertisement

वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन सकेका छैनन् । वीरगञ्ज महानगर– २६ का किसान भगीरथप्रसाद कुर्मीले विगत ६ महिनादेखि खेतीयोग्य जमिन डुबानका कारण बाली लगाउन नपाएको दुखेसो पोखे । ‘वर्षातदेखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान पनि काट्न पाइएन । हिउँदयाम सुरु भयो । डुबानले गहुँखेती गर्न पाएको छैन।’

किसान कुर्मीको १५ कट्ठा क्षेत्रफलको धान तथा अन्य बाली खेती गर्ने जमिन डुबानका कारण बेकामे भएको छ । ‘डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो । तर, हाम्रो समस्या भने जस्ताको तस्तै छ, कम्तीमा अवको वर्षायाम अगावै डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो।’ कुर्मीको जस्तै जस्तै समस्या वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सुदामाकुमार द्विवेदीले पनि भोग्दै आएका छन् । वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको धान काट्न नपाएको उनले गुनासो पोखे। ‘असारमा धान रोपेका थियौँ । एकमुठी धान पनि भित्र्याउन पाएनौँ, यस्तै अवस्था रहने होभने बालबच्चा र परिवार कसरी पाल्ने ?’ उनले चिन्ता व्यक्त गरे।

पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी ६ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या भएको हो । विगतमा अलौँबाट पानीको निकास हुँदै आइरहेको थियो । तर, विभिन्न खालका पूर्वाधार संरचना निर्माण गरेपछि प्राकृतिक रूपले पानीको बहाव रोकियो । त्यसको कारण किसानको घर–खेतमा डुबानको समस्या परेको हो । वीरगञ्ज महानगर–२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिन मात्र नभएर चारवटै वडावासीको घरमा पानी जम्ने समस्या रहेको बबताए । ‘चारवटै वडाका विभिन्न घर डुबानमा परेका छन् । तीन–चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।’ महानगर–२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा एक दर्जनभन्दा बढी घर डुबानमा परेको बताइएको छ ।

वीरगञ्ज महानगर–२६ का कार्यवहाक वडाध्यक्ष प्रदीप पटेल सडकलगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताउँछन् । ‘विगतमा यस्तो समस्या थिएन । वर्षातको पानी असोज–कात्तिकसम्म सुकिसक्थ्यो, अहिले पानीको निकास नहुँदा कहिलेसम्म डुबानको समस्या रहने हो भन्ने शङ्का उत्पन्न भइरहेको छ,’ उनले भने । वीरगञ्ज महानगरले गत कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको उनले जानकारी दिए। ‘अलौँबाट शिवजीको मिलसम्म एक किलोमिटर डोजर लगाएर अस्थायी रूपमा तीन फिट चौडा भएको पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर, ह्युमपाइप नहुँदा घरनजिकैका बासिन्दाले नाली पुरिदिँए र अहिलेको समस्या उत्पन्न भएको हो ।’ उनका अनुसार करिब एक किलोमिटर ह्युमपाइप भएको खण्डमा सो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने छ ।

वीरगन्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले समस्याबारे भने, ‘गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर स्थानीयवासीको अवरोधको कारणले अहिले पानीको निकास हुन सकिरहेको छैन ।’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरको विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए। ‘डुबान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिसकेका छौँ । सरोकार भएका निकायसँग समन्वय गरेर समस्याको गाँठो फुकाउने प्रयास जारी छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit