म्याग्दी । रोजगारीका लागि तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रस बसेका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्री अहिले आफ्नो गाउँमै कृषि उद्यम मार्फत आत्मनिर्भर जीवन
विदेश र शहर पस्दा खत्रीका परिवारले आफ्नो खेतीयोग्य जमिन अधियाँ र बन्दकी दिएका थिए। तर, कोरोना महामारीपछि गाउँ फर्किएका उनले परिवारका दाजुभाइको एक सय रोपनी जमिन भाडामा लिएर खेती गर्न थाले। ‘गौरिया धानको स्वाद बेग्लै हुन्छ। पकाउँदा घर बाहिरैसम्म बास्ना आउँछ,’ खत्रीले बताए। खत्रीले यस वर्ष १०० मुरी धान उत्पादन गरेका छन्। घरको उपभोगका लागि २५ मुरी राखेर बाँकी ७५ मुरी बिक्री गर्ने योजना छ। गौरिया धान प्रतिपाथी ४०० रुपैयाँ र चामल प्रतिपाथी १,००० रुपैयाँमा बिक्री हुन्छ।
सिमकाजी ब्रदर्स भेञ्चर प्रालिमार्फत खेती गरिरहेका खत्रीले भैँसीपालन, खसीबोका पालन तथा किराना पसलसहितको रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका खत्रीले दूध उत्पादन बढाउन भैँसीको सङ्ख्या थप्ने योजना बनाएका छन्। खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिँदै आएकी छन्। उनले एक जनालाई नियमित र आवश्यकताअनुसार अन्य व्यक्तिलाई पनि रोजगारी दिएका छन्। उनले गाउँको कृषि र पर्यटन प्रवर्द्धनका लागि सामाजिक गतिविधिमा समेत सक्रिय भूमिका खेलेका छन्।
खत्रीले ३०० वर्ष पुरानो पुर्खौली घरमा होमस्टे सञ्चालनको तयारी गरेका छन्। पाहुनालाई गौरिया धानको भात, भैँसीको दूध, खसीबोकाको मासु जस्ता स्थानीय परिकार चखाउने उनको योजना छ। मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती खत्रीका अनुसार गाउँमै रोजगारी र अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण खत्रीले प्रस्तुत गरेका छन्। ‘गाउँ फर्केर उद्यमशीलता गर्ने खत्री जस्ता युवा हाम्रो लागि प्रेरणादायी छन्। हामीले पनि उनलाई आवश्यक सहयोग गरेका छौँ, उनले बताए।
बेनी–दरवाङ सडक छेउमै रहेको सिम गाउँ प्राकृतिक रूपमा पनि आकर्षक छ। सिंगा तातोपानीबाट नजिक भएकाले कृषि र पर्यटन दुवैको विकास गर्ने सम्भावना रहेको खत्रीको विश्वास छ। ध्रुव खत्रीले देखाएको बाटोले गाउँमै सम्भावना खोज्ने अन्य युवालाई पनि प्रेरित गर्नेछ।















प्रतिक्रिया दिनुहोस्