बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकामा बाँदरको बढ्दो आतङ्कका कारण किसानहरू खेती जोगाउन दिनभर खेतमै चौकीदारी गर्न बाध्य भएका छन्। बाँदरले मकैसहित विभिन्न बाली नष्ट गर्न थालेपछि किसानको खेतीपाती संकटमा परेको छ।
जैमिनी नगरपालिका–१, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याले आफ्नो करिब सात मुरी मकै फल्ने खेत जोगाउन विगत चार वर्षदेखि नियमित चौकीदारी गर्दै आएका छन्। उनी हरेक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सडकछेउको छाप्रोमा बसेर कुकुर र गुलेलीको सहायताले बाँदर धपाउने गर्छन्। “बाँदर आयो भने मलाई टेर्दैन, कुकुर देखे केही पर जान्छन्, गुलेलीसँग डराउँछन्,” पाध्याले भने, “तर बथानमै आए भने कुकुरलाई पनि टेर्दैनन्।”
सिरुबारीसहित आसपासका क्षेत्रमा बाँदर आतङ्क किसानका लागि प्रमुख समस्या बनेको छ। बाली जोगाउन कठिन भएपछि कतिपय किसानले खेतीपाती नै छोड्न थालेका छन्। स्थानीयका अनुसार बाँदरले मकै मात्र होइन, अन्य कृषि बालीमा पनि ठूलो क्षति पुर्याउने गरेको छ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा ले बाँदर आतङ्कका कारण नगरपालिकाका सबै वडाका किसान प्रभावित भएको बताए। उनका अनुसार केही बस्तीमा बाँदरबाट हुने क्षतिकै कारण बसाइँसराइको अवस्था समेत सिर्जना भएको छ। स्थानीय तहले समस्या समाधानका उपाय खोज्ने प्रयास गरिरहे पनि बाँदर नियन्त्रण अझै चुनौतीपूर्ण बनेको छ।














प्रतिक्रिया दिनुहोस्