चितवन । चितवनका किसानले सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य नपाउँदा निराशा व्यक्त गरेका छन्। समर्थन मूल्य निर्धारणमा ढिलाइ हुँदा किसानले उत्पादन गरेको धान बजार मूल्यमा बिक्री गर्न बाध्य भएको बताएका छन्।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल का अनुसार सरकारले यस वर्षको चैते धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेकाले किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन्। यस वर्ष चितवनमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो।
पूर्वी चितवनस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड का अध्यक्ष रामशरण पाठक ले संस्थाअन्तर्गत करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानले समेत समर्थन मूल्य नपाएको बताए। उनका अनुसार अधिकांश किसानले धान बिक्री गर्दा सरकारी मूल्यको लाभ लिन सकेनन्।
यस्तै, भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रण्जीत पौडेल ले समर्थन मूल्य नपाउँदा किसान मर्कामा परेको बताए। उनले उत्पादन लागत बढिरहेका बेला उचित मूल्य नपाउँदा किसानको मनोबल कमजोर बनेको उल्लेख गरे।
जिल्लामा चैते–५, हर्दिनाथ–१, पीआर र टाइचिन जातका चैते धानको खेती गरिएको थियो। किसानहरूले आगामी वर्षदेखि समर्थन मूल्य समयमै घोषणा र प्रभावकारी खरिद व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।














प्रतिक्रिया दिनुहोस्