काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारलाई आग्रह गरेका छन् ।
सोमाबार नेपालका लागि जापानका राजदुत तोरु मायदासँग सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरेको उल्लेख गर्दै प्रशोधन केन्द्रको आवश्यकता पूरा गर्न सहयोगका लागि जापानी राजदूत समक्ष आग्रह गरेको मन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपुर्ण सहयोग गर्दे आएको उल्लेख गर्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि थप सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘जापानले प्रविधिको प्रयोग मार्फत गरेको उत्पादन वृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धी महत्वपूर्ण छ।’
कृषि क्षेत्रमा जापानले गर्दे आएको प्रविधिको नविन प्रयोग नेपालले सिक्न जरुरी रहेको उल्लेख गर्दै अधिकारीले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने भन्दै थपे, ‘अहिले पनि जापानी स्वयं सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयहरु मार्फत सहयोग गरिरहेका छन, यस मार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको छ।’
नेपालले कृषिमा लगानी दशक घोषणा गरि लगानी भित्रयाउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदुत समक्ष आग्रह गरेका छन् । भेटवार्तामा जापानी राजदुत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरुको अध्यायन गर्ने बताए ।
उनले जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दे नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा जोड दिए । नेपालको चिया र हर्वल उत्पादनहरुको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने राजदुत तोरुको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्