काठमाडौं । नेपालको राष्ट्रियता र सीमा सुरक्षाका विषयमा इतिहासमै पहिलो पटक संसद् गम्भीर रूपमा विभाजित भएको भन्दै नेकपाले गम्भीर ध्यानाकर्ष भएको जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा र सार्वभौमिकताको सवालमा पहिलो पटक संसद् विभाजित भएर छलफल गर्नुपरेको भन्दै दुःख व्यक्त गरे ।
‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सीमा, राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानको सन्दर्भमा विभाजित भएका थिएनौं,’ सांसद हमालले रोस्टमबाट भने, ‘तर आज हामी यहाँ हाम्रो भू–अखण्डताको विषयमा विभाजित भएर छलफल गर्न बाध्य भएका छौं।’
सांसद हमालले संसद्मा यो विभाजनको स्थिति आउनुको मुख्य कारण प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सीमाबारे दिइएको अभिव्यक्ति भएको उल्लेख गर्दै उनले रोस्ट्रमबाट बोलेका आपत्तिजनक विषयहरू संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरे ।
जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर प्रधानमन्त्री शाहले राष्ट्र विरोधी र नेपालको भू–अखण्डता विरुद्ध अभिव्यक्ति दिएको भन्दै सांसद हमालले प्रधानमन्त्री बालेनले आफ्ना राष्ट्रविरोधी अभिव्यक्तिका लागि नेपाली जनतासँग माफी माग्नुपर्ने बताए। ‘राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता हुनुपर्छ’, हमालले भने, ‘संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ ।’
यस्तै, उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहो¥याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको बताए । उनले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्