काठमाडौं । नेपाली कांग्रेसले आर्थिक विधेयकमा भएको करका दर हेरफेरको घटनापछि अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको बताएको छ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको करका दर हेरफेरको आरोप र रास्वपा सभापति लामिछानेको सीमा विवादप्रतिको मौनतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
अर्थमन्त्री वाग्लेले जेठ १५ गते संघीय संसद्मा पेस गरेको आर्थिक विधेयकमा व्यापक अस्पष्टता र त्रुटि रहेको भन्दै जेठ १७ गते संसद् सचिवालयमा ५ बुँदे त्रुटि सुधारको पत्र पठाएका थिए। तर, संसद्मा टेबुल भइसकेको विधेयकलाई संसदीय प्रक्रिया मिचेर सचिवालयमार्फत सच्याउन खोजिएको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका छन्।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद १५ अनुसार, विधेयकमाथि सामान्य छलफल सकिएर ‘विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको ७२ घण्टाभित्र मात्र सांसदहरूले संशोधन दर्ता गराउने कानुनी प्रावधान छ। यो प्रक्रिया सुरु नै नभई अर्थमन्त्रीले पत्र पठाउनुको कानुनी आधार के हो भन्दै कांग्रेसले प्रश्न गरेको छ। ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन ?’ आङ्देम्बेले प्रश्न गरे, ‘यस विषयमा अर्थमन्त्री किन मौन हुनुहुन्छ?’
अर्थमन्त्री वाग्लेले भने आफूमाथि लागेको करको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेर सम्बन्धी आरोपहरू निराधार र नियोजित रहेको दाबी गर्दै आएका छन्।
















प्रतिक्रिया दिनुहोस्