काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाट इन्टर नेसनल डाइरेक्टर इन्डोर्सी पदका लागि पिडिजी लायन डा. ध्रुब बहादुर थापाले मनोनयन दर्ता गरेका छन्।
डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल ३२५ का भाईस काउन्सिल चियरपर्सन लायन मिलन थापाको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा सम्पन्न नोमिनेसन कार्यक्रममा डा. थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। २६ वर्षदेखि लायनिज्ममा सक्रिय थापा लायन वर्ष २०१५\१६ मा तत्कालिन डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर भइसकेका छन्। उनले आफ्नो कार्यकालमा नेपाल लायन्स फाउन्डेसनमा लिड डोनर अवधारणा, गभर्नरको पिन सबैले लगाउने परम्परा, राष्ट्रिय गान कार्यक्रमको सुरुवातमै बजाउने जस्ता नवीन सुधार गरेका थिए।
डिष्ट्रिक्ट गभर्नर पदका लागि मिलन बाबु मल्लको उम्मेदवारी
डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी वर्षका लागि विभिन्न महत्वपूर्ण पदका उम्मेदवारी दर्ता भएका छन्। हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले डिष्ट्रिक्ट गभर्नर पदका लागि, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोलाले फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरका लागि र चिफ एडभाइजर लायन कुश प्रसाद मल्लीले सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका लागि मनोनयन दर्ता गराएका छन्। उम्मेदवारहरुले कन्भेन्सनका लागि गठित नोमिनेसन कमिटी चियरपर्सन आईपिडिजी लायन हरिप्रसाद मरहट्टासमक्ष आफ्नो मनोनयन पत्र बुझाएका छन्।
अनुभवी नेतृत्वको दाबी
हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल १७ वर्षदेखि लायनिज्ममा सक्रिय छन्। गोर्खामा जन्मिएका उनी काठमाडौंका सफल उद्योगी तथा व्यवसायी समेत हुन्। उनी नाडाका कोषाध्यक्षका रूपमा पनि कार्यरत छन्। त्यस्तै सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोलाले २६ वर्षको अनुभव बटुलेका छन् भने उनी पोखराका सफल व्यवसायी हुन्।
सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन कुश प्रसाद मल्ली ३६ वर्षदेखि लायनिज्म क्षेत्रमा सक्रिय छन्। सन् १९९० मा लायन्स क्लबको सदस्यता लिएका मल्ली सफल उद्योगी तथा बैंकर पनि हुन्। उनले डिष्ट्रिक्ट ३२५ जे लाई उत्कृष्ट डिष्ट्रिक्ट बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
वैशाख ६ गते राष्ट्रिय सभा गृहमा कन्भेन्सन
नोमिनेसन कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा तथा अन्य वक्ताहरुले उम्मेदवारहरुलाई पूर्ण समर्थन जनाउँदै शतप्रतिशत मतले विजयी गराउन आग्रह गरे। डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न हुने तयारी भइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्