काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताएका छन् ।
अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग बिहीबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । उक्त उद्योगको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको धारणा राखे ।
पाथिभरामा बन्न लागेको केबलकारको विषयले लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका लागेको भन्दै अध्यक्ष ढकालले सात वर्ष पहिले जिल्लाबासीको सहमतीमै आयोजना निर्माण सुरु गरेको उल्लेख गरे । उनले मेगा प्रोजेक्ट निर्माणको थालनीपछि स्थानीयको अवरोधले निजी क्षेत्रसँगै लगनीकर्ताको मनोबलमा नकारात्मक असर पारेको बताए ।
‘जब उक्त मेगा प्रोजेक्टको काम सुरु भयो, त्यसपछि जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भयो । यस्तो वातावरणले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ ? लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको छ । ’ उनले भने, ‘पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारमा पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार जाला भन्ने चिन्ता हामी निजी क्षेत्रमा बढाएको छ ।’
उनले पाथीभरा मन्दिरमा सहज दर्शन र पर्यटन प्रबद्र्धन लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताए । यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा समेत समस्या हुने जिकिर गरे । यस परियोजना कोशी प्रदेशकै लागि मेगा प्रोजेक्ट बन्ने दाबी गर्दै उनले केही राजनीतिक दलका व्यक्तिहरूले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको उल्लेख गरे ।
यस्तै उनले उद्यमी व्यवसायी प्रति सधै नकारात्मक धारणा बन्ने गरेको उल्लेख गर्दै यो सोँच बदल्न जरुरी भएको बताए । उद्यमी व्यवसायीप्रति नकारात्मक भाष्य, चेत र धारणा रहेसम्म लगानी नबढ्ने बताएका उनले पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोतको लागि सबै पक्ष एकै ठाउँमा उभिनुर्नेमा जोड दिए ।
उनले भने, ‘पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा राजनिति नगरौँ । पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने हो । रोजगारी सृजना हुने हो । राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हो ।’















प्रतिक्रिया दिनुहोस्