चितवन। आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ। नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको यहाँका व्यवसायीहरूले बताएका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको आफूले पाएको बताउँछन् । नीति तथा कार्यक्रम हरेक सरकारले राम्रो ल्याउने भए पनि कार्यान्वयनमा समस्या हुँदा निजी क्षेत्र प्रभावित बन्ने गरेको जनाउँदै उनले कार्यान्वयनको चरणमा कसरी जान्छ भन्ने हेर्न आवश्यक रहेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्षमा जानेमा आशावादी हुँदै निजी क्षेत्रमा उत्साह थपिएको उनको भनाइ छ।
चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरे नीति तथा कार्यक्रम सकारात्मक देखिएको बताउँछन् । अहिले सकारात्मक देखिए पनि बजेटले यी कार्यक्रमलाई कसरी समेट्छ भन्नेमा भर पर्ने उनको धारणा छ । नीति तथा कार्याक्रम कार्यान्वयनका लागि योजना बनाएर सरकारले काम गर्न सके उत्साह थपिने उनको भनाइ छ । विद्युत् रिजर्भ राख्नेदेखि एकद्धार प्रणालीसम्मले सरकारले निजी क्षेत्रलाई उत्साह थपेको उनले बताए । उनले भने, ‘सरकारको कार्यक्रम प्रभावकारी देखिन्छ तर कार्यान्वयनमा कसरी जान्छ भन्ने हो ।’
चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई नीति तथा कार्याक्रम कार्यान्वयनको पक्षमा सरकार कसरी अघि बढ्छ भन्नेमा भर पर्ने बताए । अहिले कार्यक्रम हेर्दा निजी क्षेत्रलाई प्रथामिकतामा राखेको भए पनि कार्यान्वयनमा चुनौती बने अपेक्षाकृत फड्को मार्न नसकिने उनको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आशा गरे जति नभए पनि केही राहत हुने देखिएको उल्लेख गरे । ‘पर्यटन व्यवसायीका लागि २०८५ साल भ्रमण वर्ष भन्नुले केही आशा जगाएको देखिन्छ’ थपलियाले भने । अहिले नीति तथा कार्यक्रममा केही सुधार देखिए पनि कार्यान्वयनको पक्षमा सरकार कसरी प्रस्तुत हुन्छ हेर्न बाँकी रहेको उनको भनाइ छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले लगानी बढाउन निजी क्षेत्र प्रोत्साहित हुनेगरी नीति तथा कार्यक्रम ल्याएको बताए । ‘बजेट आउँदा छुटेका विषय समावेश गरेर लगानीमैत्री हुनेगरी सम्बोधन गर्नुपर्छ’ उनले भने। नयाँ सरकार बनेसँगै सरकारले गरेका काम जनमैत्री हुँदै गएको र लगानीको वातावरण बनाइदिन सरकारसँग उनले आग्रह गरे ।

















प्रतिक्रिया दिनुहोस्