
दाङ । घोराही उपमहानगरपालिका–ज्ञठ बाउन डाँडाका ६२ वर्षीय भीमकान्त चापागाई गोलभेँडा खेतीमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएका छन्। पाँच विगाहा जमिनमा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका उनले वार्षिक रूपमा १० देखि १२ लाख रूपैयाँसम्म बचत गर्न सफल भएका छन्।
चापागाईको गोलभेँडा खेती यो क्षेत्रकै नमूना बनेको छ, जसले उपभोक्तामात्र होइन, जो कोहीलाई पनि लोभ्याउने गर्छ। उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकिसकेका छन् भने कतिपय पाक्ने क्रममा छन्। यही खेतीकै कारण उनले एक सफल र उदाहरणीय कृषकको पहिचान बनाएका छन्। आत्मनिर्भर बन्न उनले धेरै मेहनत गरेका छन्।
विस २०७५ मा चार लाख रूपैयाँको लगानीमा अरूको जमिन भाडामा लिएर खेती सुरु गरेका चापागाईले हालसम्म गोलभेँडा खेतीमा करिब २० लाख रूपैयाँ लगानी गरिसकेका छन्। उन्नत जातका गोलभेँडासँगै उनले अन्य विभिन्न जातका बेमौसमी तरकारी पनि खेती गर्दै आएका छन्। वार्षिक तीन हजार रूपैयाँ प्रतिकठ्ठा भाडामा लिएर उनले खेती विस्तार गरेका छन्। उनको कृषि फार्ममा हाल छ जनाले रोजगारीसमेत पाएका छन्।
उनकी श्रीमती पनि यही व्यवसायमा संलग्न छन्, भने उनका दुई छोरा कामको सिलसिलामा जिल्ला बाहिर छन्। एक वर्षमा गोलभेँडा खेतीबाटै यति आम्दानी गर्न सक्नु सामान्य कुरा होइन। उनले भने, ‘म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु। आफ्नै माटोमा काम गरेको छु, जसले माटोप्रति झनै माया बढाएको छ।’ उनका ग्राहकहरू बारीमै आएर गोलभेँडा, खुर्सानीलगायतका तरकारी किनेर लैजान्छन्, जसले उनलाई सन्तोष मिल्ने गरेको छ।
बर्दियाको गेरूवा गाउँपालिका– पर्सेनी स्थायी घर भएका उनले पर्याप्त सिँचाइ सुविधा रहे पनि बजार अभाव र तापक्रमका कारण दाङमा आएर खेती थालेका हुन्। उनले भने, ‘दाङमा आफन्तहरू धेरै छन्। उनीहरूबाट प्रेरित भएर गोलभेँडा खेती सुरु गरें। सुरुवातमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएर खेती गरें।’
तर, जमिन अपुग भएपछि उनले अहिलेको स्थानमा खेती सारेका छन्। उनले गोलभेँडा खेतीलाई प्राथमिकता दिएका छन्, किनभने यो खेती अन्य तरकारीभन्दा फाइदाजनक छ। एकपटक रोपेको बिरुवा लामो समय फल्ने र निरन्तर आम्दानी दिने भएकाले उनले धेरै जमिनमा गोलभेँडा खेती गरेका छन्।
चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी आदि तरकारी पनि खेती गरेका छन्। उनका उत्पादनहरू खरिद गर्न थोक व्यापारीहरू फार्ममै पुग्ने गर्छन्। अहिले टमाटर प्रतिकेजी ३० रूपैयाँमा बेच्नुपरेको उनको गुनासो छ। केही समयअघिसम्म प्रतिकेजी ९० देखि १०० रूपैयाँसम्म बिक्री हुने गरेको थियो।
उनका उत्पादनहरू दाङका विभिन्न बजारसहित बुटवल, पोखरा, नेपालगञ्जजस्ता शहरसम्म पुग्ने गरेका छन्। कृषिप्रधान देशमा कृषिको अपार सम्भावना भए पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको उनको गुनासो छ। ‘देशको अर्थतन्त्रमा कृषिले ठूलो योगदान पुर्याएको छ, तर पछिल्लो समय कृषि उत्पादन आयात गर्नु दुःखद कुरा हो,ू उनले भने। नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरूको आयात निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ।
राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनु पर्ने, दक्ष जनशक्तिको विदेश पलायन रोक्नुपर्ने, र युवाहरूलाई लक्षित गरी स्वदेशमै रोजगारका अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ। उनले भने, ‘देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्छ र युवाहरूलाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फार्म सञ्चालनमा ल्याउनुपर्छ।’
आफ्नै माटोमा पसिना बगाए सुन फल्ने भन्दै उनले विदेशिने युवालाई आफ्नै माटोमा खेती गर्न आग्रह गरेका छन्। ‘हाम्रो धर्ती मलिलो छ, यहाँ जे रोपे पनि फल्छ, त्यसैले कामका लागि विदेशिन आवश्यक छैन,’ उनले भने। सरकारले कृषकहरूलाई अनुकूल वातावरण सिर्जना गरिदिनुपर्ने, आवश्यक ऋण सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्ने, र उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्ने उनको माग छ।
प्रतिक्रिया दिनुहोस्