काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरूबीच विवाद हुँदा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको टिप्पणी गरेका छन् ।
आज ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ अन्र्तगत रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषय दलहरूबीच नभई बिचौलियाहरूबीच विवाद हुँदा प्रक्रिया ढिला भएको दाबी गरे।
उनले भने, ‘गभर्नर नियुक्तिमा अहिले बिचौलियाबीच तानातान छ । जनतालाई लागिरहेको हुनसक्छ कि पार्टीबीच सहमति छैन, तर यथार्थमा बिचौलियाहरूबीच कुरा नमिलेकाले ढिलाइ भएको हो । कहिले कांग्रेस, कहिले एमालेलाई पकड्ने प्रयास भइरहेकाले टुंगो लागेको छैन ।’
प्रचण्डले स्वार्थ समूहहरूको प्रभाव बढ्दै गएको बताउँदै गर्भनरजस्तो संवेदनशील पदमा योग्यताको आधारमा नियुक्ति गर्न सरकारलाई सुझाव समेत दिए ।
प्रचण्डले सरकार बिचौलियाहरूको इशारामा चलिरहेको आरोप लगाए । ‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’
यस्तै, उनले आन्दोलनरत शिक्षकहरुको माग चाँडै सरकारले पूरा गर्नुपर्ने बताए । उनले देशको अवस्था सुहाउँको शिक्षा प्रणाली नहुँदा हजारौँ विद्यार्थी विदेशिएको उल्लेख गर्दै समाजवाद उन्मुख शिक्षा नीति ल्याउनुपर्ने बताए । शिक्षकहरुको माग सरकारले अबिलम्ब पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘आज हजारौँ शिक्षकहरु सडकमा छन्, त्यो विधेयक अबिलम्ब ऐनमा परिणत गरेर मात्रै शिक्षकहरुका समस्या र शिक्षा क्षेत्रका समस्या धेरै हलसम्म हल गर्न सकिन्छ । शिक्षा नीति र अर्थ नीतिमा सुधार बिना टालटुल गरेर समस्या समाधान हुँदैन । हामीले समाजवादी शिक्षा नीति र अर्थनीतिमा जानुपर्ने हुन्छ ।’















प्रतिक्रिया दिनुहोस्