काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको उक्त खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकबाट प्राप्त सहयोगमार्फत व्यवस्थापन गरिने जानकारी दिए । ‘हाम्रो महाधिवेशको खर्च करिब चार करोड जति हुने अनुमान छ । त्यो खर्च रजिस्ट्रेशन शुल्क, पार्टीका सदस्य र शुभचिन्तकहरुबाट सहयोगहरु आउँछ’ महामन्त्री बुर्लाकोटीले भने ।
उनका अनुसार महाधिवेशनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने विभिन्न सेवा प्रदायकहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको छ। केही व्यवसायी तथा सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको भनाइ छ।
विशेषगरी क्याटरिङको लागि व्यवसायीहरूले लागत मूल्यमा मात्रै सेवा दिने प्रतिबद्धता जनाएको बुर्लाकोटीले बताए। उनले भने, ‘क्याटरिङमा हाम्रो ठूलो रकम खर्च हुन्थ्यो हामी नाफा लिदैनौं लागत मात्र कटाएर सेवा दिन्छौं भन्ने प्रस्तावहरुपनि आएका छन् । हामीलाई आएको प्रस्ताव र साथीभाईले देखाउनुभएको यो उत्साह हेर्दा यो महाधिवेशको खर्च हामीले जुटाउन सक्छौं ।’ रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुँदैछ।
रास्वपा केन्द्रीय समिति १५८ सदस्यीय, विधानमै वरिष्ठ नेता
यसैबीच, सचिवालय बैठकले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पद औपचारिक रूपमा समावेश गर्ने निर्णय पनि गरेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा बसेको बैठकले विधान संशोधन प्रक्रियाअन्तर्गत उक्त पदलाई विधानमै समेट्ने निर्णय गरेको हो।
आगामी निर्वाचनअघि बालेन शाहसँग सम्भावित सहकार्यको सन्दर्भमा सिर्जना गरिएको ‘वरिष्ठ नेता’ पदलाई रास्वपाले अब स्थायी संरचनाको रूपमा राख्न लागेको हो । यसअघि रास्वपा सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा उक्त पद समावेश गरिएको थिएन।
बैठकले पार्टीको केन्द्रीय समितिको आकार पनि विस्तार गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति बढाएर १५८ सदस्यीय बनाइने भएको छ। विधान संशोधन समितिले भने १३६ सदस्यीय संरचनाको प्रस्ताव गरेको थियो।
त्यसैगरी, पार्टीको पदाधिकारी संरचना पुनर्गठन गर्दै १९ सदस्यीय बनाइने निर्णय पनि रास्वपाले गरेको छ। नयाँ व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहने व्यवस्था गरिनेछ।
रास्वपाले महाधिवेशनअघि विधान संशोधनलाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्