गण्डकी । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। लामो समयदेखि अतिक्रमणमा परेको बसपार्क क्षेत्र खाली गर्न थालिएसँगै आधुनिक पोखरा बसपार्क निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
महानगरले यसअघि पटकपटक जारी गरेको सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरेको हो। वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार बसपार्कको जग्गा खाली गर्ने, कित्ता यकिन गर्ने र व्यवस्थापनको काम सँगसँगै अघि बढाइएको छ।
बसपार्क निर्माणका लागि २०३२ सालमा पोखरा उपत्यका नगर विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, समयमै निर्माण कार्य अघि नबढ्दा अतिक्रमण बढेर बसपार्कको खाली क्षेत्र २६ रोपनीमा सीमित भएको थियो। बसपार्कको उत्तरतर्फ रहेका जग्गाधनीले संरचना हटाउने निर्णयविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरे पनि गत जेठ २५ गते महानगरसँग भएको सहमतिपछि रिट फिर्ता लिएर निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका थिए।
महानगरका अनुसार पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र सेती नदीतर्फका अधिकांश पसल तथा संरचना खाली भइसकेका छन्। बसपार्कभित्रका संरचना हटाउन डोजरसमेत परिचालन गरिएको छ।
बसपार्क क्षेत्रमा हाल ५७२ भूमिहीन दलित तथा सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। उनीहरूको उचित व्यवस्थापनपछि मात्र स्थानान्तरण गरिने महानगरको योजना छ। त्यसका लागि जग्गा खोजी, पहिचान, प्लट निर्माण तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाइएको छ भने केही स्थानमा देखिएका प्राविधिक जटिलताको थप अध्ययन भइरहेको छ।
महानगर प्रमुख धनराज आचार्यले सबै पक्षको सहकार्यमा आधुनिक र व्यवस्थित बसपार्क निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए। बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण र क्षतिपूर्तिसम्बन्धी विवादको समेत छानबिन भइरहेको उनले जानकारी दिए।
पोखरा महानगरपालिकाले बसपार्क निर्माणका लागि आवश्यक बजेट दातृ निकायमार्फत सुनिश्चित गरिसकेको जनाएको छ। पर्यटनको प्रमुख गन्तव्य पोखरामा स्तरीय बसपार्क अभावले ट्राफिक व्यवस्थापन र यातायात सेवामा समस्या हुँदै आएको थियो। अतिक्रमित संरचना हटाउन सुरु भएसँगै आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको बहुप्रतीक्षित योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्