images images images
images images images
images
images
images

पोखरा र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न संवेदनशील हुनुपर्छ : अध्यक्ष ढकाल

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र पर्यटन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आज देखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका क्रममा अध्यक्ष ढकालले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

images
images

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्दै ब्रान्डको रूपमा विकास गर्नुपर्ने बताए ।
अध्यक्ष ढकालले भने, “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले उनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ ।”

यस्तै, उनले बौद्ध पर्यटन प्रवद्र्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरूका साथै, भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने बताए । ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तिमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिई तथा सोही अनुरुप पर्यटक आगमन बढाउन सकेमा मात्र नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राखे ।

यस्तै, अध्यक्ष ढकालले अर्बौंको लागतमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिए पनि हाल पूर्ण रुपमा ती विमानस्थल सञ्चालनमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । ती विमानस्थलका कारण निजी क्षेत्रले होटल तथा पर्यटन व्यवसायमा ठूलो लगानी गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा लगानी गुम्ने जोखिम बढेको बताए । उनले भने, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो कुरा पोखरा विमानस्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।”

यसैगरी, बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा उनको छ । लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नको लागि उपयुक्त रहेको उल्लेख गर्दै उनले भने, ‘आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौं ।’

नेपालको हवाई भाडा महँगो रहेको उल्लेख गरेका उनले सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो हुन पुगेको भन्दै त्यसमा समीक्षा गर्न आग्रह गरे।

नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि सम्भावित गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले भारतीय पर्यटकहरूलाई लक्षित गरी कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गर्न अध्यक्ष ढकालले सुझाव दिए ।

नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई विशाल सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्