काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृह प्रशासनकै उच्च तहका अधिकारीको संलग्नता रहेको प्रमाण बाहिरीएको भन्दै गृहमन्त्री लेखकले तुरुन्तै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने निष्कर्ष निकालेको हो ।
अध्यागमनका कर्मचारीसँग गृह मन्त्रालयकै कर्मचारीको मिलेमतोद्वारा भिजिट भिसा मार्फत विदेशिने युवासँग मोटो रकम असुल गरी मानव तस्करीको ठगी धन्दा चलाएको अभियोगमा अख्तियारले अध्यागमन विभाग र गृश प्रशासनका कर्मचारीमाथि छानबिन गरिरहेको छ ।
अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रीको सचिवालयका कर्मचारी जोडिएका छन् । उक्त प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका सँगै चौतर्फी विरोध भैराखेको छ । सचिवालयका कर्मचारी मानव तस्करीमा जोडिनु र कर्मचारीको मन्त्रालयभित्रै सरुवा गर्नुले गृहमन्त्रीमाथि नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्ने दबाब छ ।
कांग्रेस भित्रकै नेताहरुले पनि उनको राजिनामा माग गरिरहेको उल्लेख गर्दै माओवादी केन्द्रले उक्त प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएर अनुसन्धानलाई प्रभाव पार्न खोजेको आशंका गरेको छ । स्वच्छ र निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘ राज्यका निकायले छानबिन नै सुरु गरिसकेको स्थितिमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’
गृहमन्त्रीको राजिनामा दिन जति ढिलो गर्छन उति नै राज्यमाथि नागरिकको भरोसा गिर्ने उल्लेख गर्दै प्रवक्ता सापकोटाले भने, ‘ पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र निष्पक्ष छानिबिनका लागि उहाँले बाटो खुला गरिदिनुपर्छ भनेर हाम्रो पार्टीले निष्कर्ष निकालेको छ । गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति नै राज्यको साख गिर्दै जान्छ ।’















प्रतिक्रिया दिनुहोस्