काठमाडौं ।देशभरको मौसम आगामी २४ घण्टा प्रभावित हुने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार असार १ गते आइतबार र असार २ गते सोमबार देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुने पूर्वानुमान गरिएको छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा सम्भावित छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ।
राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ भने गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली भेगमा हिमपात र हल्का वर्षा पनि हुन सक्छ।
सोमबार असार २ गते पनि दिनभर देशभर बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य स्थानका थोरै भागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्छ। राती पनि यस्तै स्थिति रहनेछ भने केही स्थानहरूमा भारी वर्षाको सम्भावना कायम नै रहनेछ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान पनि प्रभावित हुनसक्ने बताइएको छ। उच्च–पहाडी तथा हिमाली भेगका यात्रु तथा सर्वसाधारणलाई आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्