images images images
images images images
images
images
images

मुख्य पर्यटकीय याममै पर्यटकको सङ्ख्या घट्यो

images

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो ।

सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।

images
images

सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । ‘मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे । मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ ।’

अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उनले आग्रह गरे । नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा कडरियाले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । दुई/तीन दिनदेखि पर्यटक आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा घटेको उनको भनाइ छ। ‘यो याममा दिनमा ४०० सम्म विदेशी पर्यटक आउँथे, अहिले घटे । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक पनि घटेका छन् ।’

घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले आफ्नो होटलमा आउन लागेका पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेको बताए ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्