काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रर्वतन (स्टार्टअप) कर्जालाई दोब्बर बनाउन माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सिबिफिनको छैठौं साधारणसभामा उनले स्टार्टअपलाई ह्णलाई २५ लाखबाट बढाएर सरकारले ५० लाख रुपैयाँ पुर्याउनुपर्ने बताएका हुन् । श्रेष्ठले बिना धितो कर्जा पाउन सक्ने गरी व्यवस्था हुन जरुरी रहेको औंल्याए । उनले भने, ‘अहिले स्टार्टअपलाई २५ लाख रुपैयाँसम्म दिने भनेको छ । २५ लाख लोनको व्यवस्थाले नपुग्ने अवस्था आएको छ । संयुक्त रुपमा काम गर्ने युवाहरुको टिमलाई बिना धितो ५० लाख सम्मको कर्जा दिने प्रावधान भयो भने नेपालमा व्यवसाय गर्नलाई युवाहरुलाई प्रोत्साहन गर्ने वातावरण बन्छ । यसमा मनन् गरौं ।’
हाल सरकारले स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिँदै आएको छ । सरकारले तोकेको मापदण्डमा परेका स्टार्टपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउँछन्। श्रेष्ठले जेनजी आन्दोलनमा उद्योगी तथा व्यवसायीलाई टार्गेट गरी भएको तोडफोड र आगजनीले निजी क्षेत्रका उद्यमी व्यवसायीको मनोबल गिरेको बताए। उनले भविष्यमा उद्योगी तथा व्यवसायी माथिको आक्रमण रोक्न सरकारसँग माग पनि गरे।
यस्तै, श्रेष्ठले एसएमई लोनमा गरीबबाट धनी बनाउन सक्ने अवधारणा रहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैको हातेमालो गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले कृषि बीमालाई प्रभावकारी बनाउन प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘कसरी कृषि बीमालाई प्रोत्साहन गर्ने ? यसमा सबैले सोच्नुपर्छ,’ उनले थपे, ‘पशु बीमा गर्नलाई पनि गाह्रो छ, मुलुकलाई बनाउन अलिकति सेक्रिफाइज पनि गर्नुपर्छ, रिक्स नि लिनुपर्छ । साना उद्योगी व्यवसायीले मात्र रिक्स लिनुपर्छ भनेको होइन सम्बद्ध सबैले थोरै रिक्स लिनुपर्छ । बैंकर्सहरुलाई पनि यसका लागि हाह्वान गर्छु ।’







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्