Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले त्रसित स्थानीय

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले त्रसित स्थानीय
विज्ञापन
Advertisement

भलबारी (रुपन्देही) । दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ। डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

विज्ञापन
Advertisement
Advertisement

सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् । ‘डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्याङ्कर राख्नुपर्ने, ट्राफिक प्रहरीले जरिवाना तिराउने, बुटवल–भैरहवा सडकको सर्भिस लेनबाट निगमको डिपोभित्र प्रवेश गर्नुपर्दा अत्यधिक जामको समस्या आएको छ’, चालक खरेलले भने।

पेट्रोलियम पदार्थ लिन निगमकै अन्य तथा इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न डिपो पुगेका खरेलले निगमले पार्किङको ठाउँ छुट्टाइदिनुपर्ने बताए । ‘सडकमा रोकी राख्दा कहिलेकाहीँ दुर्घटना हुनसक्छ, त्यसको जिम्मेवार को भन्दा ट्याङ्कर चालक नै हुने गरेका छन्’, ट्याङ्कर एकाइ कमिटी भलबारीका अध्यक्ष खरेलले भने, ‘निगमले पार्किङको ठाउँ छुट्टाइदिएको भए चालक र स्थानीयलाई पनि ढुक्क हुन्थ्यो ।’

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका कोषाध्यक्ष धनेन्द्र पौडेल ठूल्ठूला ट्याङ्कर आवातजावत गरिरहँदा पार्किङको अभाव भएको बताउँछन् । इन्धन लोड गरेर ल्याएको ट्याङ्कर यत्रतत्र राख्नुपर्ने बाध्यता छ। ‘पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर घरमा लगेर राख्ने होइन, अति प्रज्वलनशील पदार्थ सडकमा राख्न पनि मिलेन’, उनले भने, ‘पेट्रोलियम पदार्थको माग बढेका दिन लस्करै वल्लो चोकदेखि पल्लो चोकसम्म ट्याङ्कर राख्नुपर्ने बाध्यता छ, यसबाट सडक दुर्घटना मात्र नभई अन्य समस्या पनि बेहोर्नुपरेको छ ।’

रुपन्देहीकै रोहिणी क्षेत्रमा डिपो सार्ने खबरले ट्याङ्कर व्यवसायी र चालक उत्साहित छन् । ‘रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण हुने जानकारी पाएका छौँ, नयाँ ठाउँमा पार्किङको उचित व्यवस्था हुन्छ भन्ने आशा छ’, उनले भने। ट्याङ्कर चालक मात्रै होइन वरपरका नागरिकलाई पनि डिपोले तनाव नै दिएको छ। विसं २०३६ मा डिपो स्थापना भएको हो। त्यति बेला भलबारी गाउँ नै थियो । अहिले सो क्षेत्र सहरमा परिणत भएको छ। बुटवल–भैरहवा ६ लेन सडक यही हुँदै गएको छ। चार बिघा १४ कट्ठामा फैलिएको सो डिपो अहिले घनाबस्तीको बीचमा छ ।

इन्धन बोकेका ट्रक तथा ट्याङ्कर घरै अगाडि सडकमा पार्किङ गरेर राख्दा जोखिम बढेको तिलोत्तमा–७ भलबारीस्थित मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाहीको भनाइ छ । केही वर्षअघि भलबारी डिपोमा आगलागी हुँदा त्रास बढेको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरी डिपो तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा तत्काल डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउने, त्यसअघि ट्याङ्करको निश्चित स्थानमा पार्किङको व्यवस्था, बुटवल–भैरहवा सडकखण्डको ‘सर्भिस लेन’मा ट्रक ट्याङ्कर पार्किङ गर्ने अवस्था तत्काल हटाउनेलगायत विषय उल्लेख गरिएको सङ्घर्ष समितिका संयोजक गङ्गा शाहीले बताए ।

निगमको लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भलबारी डिपोमा जग्गा अभावका कारण तत्काल भण्डारण क्षमता र पार्किङ क्षेत्र विस्तार गर्नसक्ने अवस्था नरहेको बताउँछन् । ‘भण्डारण क्षमता अभिवृद्धि गर्नका लागि जग्गा छैन, थप पूर्वाधार निर्माण गर्ने अवस्था छैन’, उनले भने, ‘डिपोमा पार्किङ क्षेत्र नै छैन, ट्रक तथा ट्याङ्कर सडकमै राख्नुपर्ने बाध्यात्मक अवस्था छ, यिनै कारणले तत्काल डिपो सार्नुपर्नेछ ।’

रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वसहित बागलुङका केही पम्पमा इन्धन आपूर्ति गर्दै आइरहेको छ। सो डिपोअन्तर्गत २०० भन्दा बढी डिलर सञ्चालित छन्। डिपोमा इन्धन ल्याउने र डिलरमा पु¥याउन करिब ३०० ट्रक ट्याङ्कर छन्। भलबारी डिपोमा अमलेखगञ्जबाट डिजेल तथा पेट्रोल भारतको बेतालपुर डिपोबाट आयात हुँदै आएको छ। भलबारी डिपोमा हाल पेट्रोलको ५१९ किलोलिटर, डिजेल तीन हजार ५० किलोलिटर र मट्टितेलको भण्डारण क्षमता १४० किलोलिटर रहेको छ ।

दैनिक ३०० किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । सरकारले हरेक प्रदेशमा तीन महिनासम्म पुग्ने भण्डारण क्षमता वृद्धि गर्ने भने पनि बिक्री अवस्थाका आधारमा सो डिपोको मौज्दात न्यून छ। भलबारी डिपोको हालको मौज्दातले पेट्रोल दुई दिन, डिजेल करिब चार दिनको माग धान्ने प्रमुख भुसालले जानकारी दिए ।

सडक अवरुद्ध भए चार दिनमै डिपो ‘रित्तिने’ डर

भण्डारण क्षमता न्यून भएपछि सडक अवरुद्ध हुँदा वा इन्धन लोड हुन नसक्दा डिपो ‘रित्तिने’ अवस्था देखिएको प्रमुख भुसालको भनाइ छ। केही कारणले एक÷दुई दिन इन्धन लोड हुन नसकेमा डिपो खाली हुने र बिक्री वितरणमा समस्या पर्न सक्ने अवस्था रहेको उनले बताए । ‘हामीसँग पर्याप्त मौज्दात गर्ने टयाङ्क छैन । हिलेकाहीँ बाटो बिग्रन सक्छ, समयमै ‘लोड’ नहुन सक्छ, यहाँको अवस्था दयनीय छ ।’

केही महिनाअघि वर्षाका कारण बुटबल–नारायणगढ सडक अवरुद्ध हुँदा अमलेखगन्जबाट इन्धन ल्याउन नसकिएपछि डिपोले पोखराबाट इन्धन आपूर्ति गरेको थियो। भलबारी डिपो स्थानान्तरण गर्न रुपन्देहीकै रोहिणी खोला किनारमा जग्गा व्यवस्थापन गरिएको छ । निगमले बस्तीभन्दा टाढा र पर्याप्त जग्गा रहेका कारण सो क्षेत्रमा आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने घोषणा गरे पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit