काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११ औं महाधिवेशनमा खुला प्रतिस्पर्धा सुनिश्चित हुने बताएका छन् ।
आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमा हुने निर्वाचन प्रक्रियाबारे मतदमा हुने बताएका हुन् ।
अध्यक्ष ओलीले मतदान नहोस् वा सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकियोस् भन्ने आशंका गर्न नपर्ने उल्लेख गरे । ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ,’ ओलीले भने ।
केन्द्रीय कमिटीमा इच्छुक नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने उल्लेख गर्दै उनले पार्टीका कार्यकर्ता नै सार्वभौम प्रतिनिधि भएकाले दबाबका प्रयास सफल नहुने तर्क गरेका छन् ।
उनले भने ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने लागेका भए त्यस्तो हुँदैन, रोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ । केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि हो ।’
यस्तै उनले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।
‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो । राष्ट्रिय गौरव कायम राखेर देश अगाडि बढ्छ भन्ने आशाका साथ अघि बढ्छौं । देशले शान्ति कायम गर्छ,’ उनले भने ।















प्रतिक्रिया दिनुहोस्