काठमाडौं । नेपाल एयरलाइन्सले कात्तिक २ गते (अक्टोबर १९ )को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका हुन् । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं_ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ-काठमाडौं उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ ।
यसैगरी, २३ अक्टोबरको काठमाडौं-ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ-काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।
निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको जिकिर छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्