काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेसँगै पुँजी बजारले नयाँ नेतृत्व पाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकमा करिब तीन दशक लामो अनुभव हासिल गरेका भट्ट वित्तीय क्षेत्रका अनुभवी नीति निर्माता तथा पुँजी बजार विज्ञका रूपमा परिचित छन्। तर नेतृत्व सम्हालेसँगै उनीमाथि सेबोनको संस्थागत साख पुनःस्थापना गर्ने, बजार सुधारलाई गति दिने र लगानीकर्ताको विश्वास मजबुत बनाउने चुनौती छ।
सबैभन्दा पहिले बोर्डभित्रकै कर्मचारी असन्तुष्टिको विषय समाधान गर्नुपर्ने अवस्था छ। ‘कर्मचारी कल्याण कोष’ र ‘कर्मचारी सुरक्षण कोष’ सम्बन्धी अर्थ मन्त्रालयको निर्णयको विरोधमा सेबोनका कर्मचारीहरू लामो समयदेखि असन्तुष्ट छन्। कर्मचारीहरूको मनोबल कमजोर हुँदा नियामक निकायको कार्यसम्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले नयाँ नेतृत्वले अर्थ मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्नुपर्ने देखिन्छ।
यसैगरी, विगतमा बोर्ड नेतृत्वहरू विभिन्न विवाद, आर्थिक अनियमितता तथा नीतिगत निर्णयका कारण आलोचित बन्दै आएका छन्। प्राथमिक शेयर निष्कासन (आईपीओ) स्वीकृतिका विषयमा बोर्ड निरन्तर दबाब र आलोचनाको केन्द्रमा रहने गरेको छ। यस्तो अवस्थामा भट्टले आफ्नो स्वच्छ छवि कायम राख्दै पारदर्शी र निष्पक्ष नेतृत्व प्रदान गर्नुपर्ने देखिन्छ ।
नेप्सेको पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्ज स्थापनाको विषय पनि लामो समयदेखि अल्झिएको मुद्दा हो। यस सम्बन्धमा पटक–पटक अध्ययन समिति गठन भए पनि प्रतिवेदन कार्यान्वयनमा जान सकेका छैनन्। रणनीतिक साझेदार भित्र्याउने, संस्थागत सुधार गर्ने तथा शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री संरचनामा रूपान्तरण गर्ने जिम्मेवारी पनि नयाँ अध्यक्षमाथि रहनेछ।
आईपीओ स्वीकृतिलाई लिएर बजारमा वर्षौंदेखि विवाद रहँदै आएको छ। बजार घटेका बेला ‘ओभर सप्लाई’ को तर्क गर्दै आईपीओ रोक्न दबाब आउने गरेको छ। विज्ञहरूका अनुसार बजारको मनोविज्ञानका आधारमा होइन, स्पष्ट, पारदर्शी र स्वचालित मापदण्डका आधारमा आईपीओ स्वीकृति प्रक्रिया सञ्चालन गर्नु आवश्यक छ। वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा आकर्षित गर्नु पनि सेबोन अध्यक्षका लागि महत्वपूर्ण कार्यभार हुनेछ।
त्यस्तै, सूचना चुहावट, कर्नरिङ र भित्री कारोबार (इनसाइडर ट्रेडिङ) सम्बन्धी आशंका पनि नेपाली शेयर बजारमा बारम्बार उठ्ने गरेका छन्। यस्ता गतिविधिले साना तथा सर्वसाधारण लगानीकर्ताको हितमा असर पुग्ने भएकाले बजार निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिन्छ। बजारमा अनुचित चलखेल गर्ने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याएर लगानीकर्ताको विश्वास कायम राख्नु पनि भट्टको नेतृत्वको महत्वपूर्ण परीक्षा हुनेछ।
को हुन् बोर्ड अध्यक्ष भट्ट ?
उनी नेपाल राष्ट्र बैंकमा करिब तीन दशक लामो अनुभव हासिल गरेका नवनियुक्त डा। भट्ट वित्तीय क्षेत्रका अनुभवी नीति निर्माता, अर्थशास्त्री तथा केन्द्रीय बैंकरका रूपमा परिचित छन्।
वि.सं.२०२५ साल जेठमा जन्मिएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन (वित्त) विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उनको विद्यावारिधि अनुसन्धान ‘स्टक मार्केट एफिसिएन्सी इन नेपाल’ विषयमा केन्द्रित रहेको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा बीबीए अध्ययन पनि पूरा गरेका छन्।
नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेका भट्ट कार्यकारी निर्देशक (विशेष श्रेणी) पदबाट अवकाश प्राप्त अधिकारी हुन्। आफ्नो सेवाकालमा उनले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, काठमाडौं बैंकिङ कार्यालय तथा जनकपुर क्षेत्रीय कार्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
अनुसन्धान विभागको नेतृत्व गर्दा उनले मौद्रिक नीति निर्माण, आर्थिक अनुसन्धान तथा पूर्वानुमान कार्यमा महत्वपूर्ण योगदान दिएका थिए। साथै उपभोक्ता मूल्य सूचकांक (सीपीआई) परियोजनाको नेतृत्व गरेका थिए। सार्वजनिक ऋण व्यवस्थापन क्षेत्रमा उनले ऋण रणनीति सुदृढीकरण, तरलता व्यवस्थापन तथा खुला बजार कारोबार (ओएमओ) उपकरणको विकासमा समेत भूमिका खेलेको बताइन्छ ।
भट्टको पुँजी बजारसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको छ। उनी सन् २०२० देखि २०२२ सम्म सानिमा क्यापिटल लिमिटेडका स्वतन्त्र सञ्चालक थिए भने सन् २०२२ देखि २०२६ सम्म नेपाल एसबीआई बैंक लिमिटेडका स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत थिए।
यसैगरी, उनी एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित पुँजी बजार तथा पूर्वाधार विकास परियोजनाका सदस्य समेत रहेका थिए। साथै वित्तीय क्षेत्र सुधार कार्यक्रम, सार्वजनिक ऋण व्यवस्थापन रणनीति निर्माण तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विभिन्न परामर्शदात्री भूमिकामा पनि उनले योगदान दिएको अर्थ मन्त्रालयले जनाएको छ।
शैक्षिक क्षेत्रमा पनि सक्रिय रहेका डा. भट्टले २५ वर्षभन्दा बढी समयदेखि त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, द ब्रिटिस कलेज, किङ्स कलेजलगायत संस्थामा अध्यापन गर्दै आएका छन्। उनले लगानी विश्लेषण, वित्तीय डेरिभेटिभ्स, मौद्रिक नीति, कर्पोरेट वित्त तथा जोखिम व्यवस्थापन विषय अध्यापन गरेका छन्।
उनका ‘स्टक रिटर्न्स एन्ड जीडीपी इन नेपाल’ तथा ‘अप्टिमम ग्रोथ–म्याक्सिमाइजिङ पब्लिक डेब्ट थ्रेसहोल्ड फर नेपाल’ लगायतका अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्। केन्द्रीय बैंक, वित्तीय नीति, सार्वजनिक ऋण व्यवस्थापन र पुँजी बजारसम्बन्धी अनुभवका कारण डा। भट्टको नियुक्तिलाई धितोपत्र बजार सुधार तथा संस्थागत सुदृढीकरणसँग जोडेर हेरिएको छ।
नयाँ नेतृत्वले अब पुँजी बजार सुधार, संस्थागत सुशासन, पारदर्शिता र लगानीकर्ता संरक्षणका एजेन्डामा सफलता हासिल गर्न सके मात्र सेबोनले गुमेको साख पुनः प्राप्त गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्