काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ ।
नयाँदिल्ली भ्रमणमा रहेका पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज गरेको भेटमा भारतमा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्ने बताएका हुन् । ‘रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जाको विकासका लागि आवश्यक सबै कुराको भरपर्दो आपूर्तिकर्ता हो । हामी तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्रका लागि इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न तयार छौँ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतका धेरै उत्पादनहरूमा ५० प्रतिशत कर लगाएका थिए । अमेरिकाले कर बढाउनुको मुख्य कारण भारतलाई रुसी तेल खरिदमा दबाब दिनु पनि रहेको थियो । प्रधानमन्त्री मोदीले पुटिनलाई भारतप्रतिको अटुट प्रतिबद्धताका लागि धन्यवाद दिँदै ऊर्जा सुरक्षालाई भारत–रुस साझेदारीको बलियो स्तम्भ भएको बताए । उनले पुटिनलाई ‘मेरा मित्र’ भनेर सम्बोधन गर्दै दुई देशको लामो समयदेखि रहेको सम्बन्धको प्रशंसा पनि गरेका थिए ।
भेटका क्रममा अधिकारीहरूले रोजगारी, स्वास्थ्य, ढुवानी र रसायन क्षेत्रका सम्झौताहरू आदानप्रदान गरेका छन् । मोदीले पुटिनलाई सन् २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति भएको जानकारी दिए । उक्त सहमतिले व्यापार र लगानीलाई विविधीकृत, सन्तुलित र दिगो बनाउने विश्वास दिलाएको छ। एएफपी







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्