Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फेरि खल्बलियो मध्यपूर्वको शान्ति, तीन देशका अमेरिकी बेसमा इरानको क्षेप्यास्त्र प्रहार

फेरि खल्बलियो मध्यपूर्वको शान्ति, तीन देशका अमेरिकी बेसमा इरानको क्षेप्यास्त्र प्रहार
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

इरानी आक्रमणका क्रममा जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसतर्फ प्रक्षेपण गरिएका पाँचवटा क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ । उक्त सैन्य अड्डामा अमेरिकी एफ–३५ लडाकू विमानसहित अन्य सैन्य उपकरण तैनाथ छन् । जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र खसेका क्षेप्यास्त्रका भग्नावशेषबारे अनुसन्धान भइरहेको छ ।

यसै क्रममा इरानले बहराइन र कुवेततर्फ पनि आक्रमण गरेको दाबी गरिएको छ । ती दुवै देशले सम्भावित जोखिमलाई ध्यानमा राख्दै हवाई सुरक्षा प्रणाली सक्रिय पारेका थिए । यी घटनालाई विश्लेषकहरूले युद्धविरामपछि पुनः बढ्दो सैन्य टकरावको सङ्केतका रूपमा हेरेका छन् । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकू विमानहरूले इरानका हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण केन्द्र तथा निगरानी राडार संरचनालाई लक्षित गरी कारबाही सञ्चालन गरेका हुन् । इरानले बन्दर अब्बास र केशम टापु आसपासका क्षेत्रमा आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

अमेरिकाले यो कारबाहीलाई आफ्ना सैनिक तथा अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा हालै भएका आक्रमणको ‘समानुपातिक प्रतिक्रिया’ भनेको छ । तर इरानले यसलाई अस्वीकार गर्दै विदेशी सैन्य उपस्थितिलाई नै क्षेत्रीय अस्थिरताको मुख्य कारण बताएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशमाथि हुने कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत क्षेत्र नजिक रहेका विदेशी सैन्य बल निरन्तर जोखिममा रहेको उल्लेख गर्दै थप आक्रमण भए प्रतिकार गर्ने स्पष्ट सङ्केत गरेका हुन् ।

यसअघि एक अमेरिकी एएच–६४ अपाचे आक्रमण हेलिकप्टर हर्मुज जलघाँटी नजिक दुर्घटनाग्रस्त भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार हेलिकप्टर र इरानी ड्रोन ठोक्किएर दुर्घटना भएको आशङ्का गरिएको छ । यद्यपि यो घटना नियोजित थियो वा थिएन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन र अनुसन्धान जारी रहेको बताइएको छ । दुर्घटनापछि अमेरिकी सेनाले पहिलोपटक समुद्री ड्रोनको प्रयोग गरी उद्धार अभियान सञ्चालन गरेको जनाएको छ। स्थानीय समयअनुसार बिहान करिब साढे तीन बजे दुर्घटनाग्रस्त हेलिकप्टरका दुई चालक दल सदस्यलाई ड्रोनमार्फत सुरक्षित स्थानमा पुर्‍याइएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै सैनिक सुरक्षित रहेको जानकारी दिएका छन् ।

विश्लेषकहरूका अनुसार हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढेसँगै अपाचे हेलिकप्टरहरू इरानी तेल ढुवानीमाथि निगरानी तथा नाकाबन्दी कार्यान्वयनमा महत्त्वपूर्ण साधन बनेका छन् । संयुक्त अरब इमिरेट्सले पनि इरानी ड्रोन रोक्न यस्ता हेलिकप्टर प्रयोग गर्दै आएको छ ।युद्धविराम कायम राख्ने प्रयास भइरहेका बेला पछिल्ला घटनाले कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे आशावादी रहेको बताएका छन् , तर त्यसको आधार उनले खुलाएका छैनन्।

पाकिस्तानको मध्यस्थतामा पछिल्ला केही सातादेखि वार्ता अगाडि बढाउने प्रयास भइरहे पनि अमेरिका र इरान दुवैले आफ्ना अडान नरम बनाएका छैनन्। अमेरिकाले इरानसँग रहेको उच्च प्रशोधित युरेनियमको मौज्दात त्याग्नुपर्ने माग राख्दै आएको छ भने इरानले प्रतिबन्ध हटाउन र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

यसैबीच, इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबनानमा जारी सङ्घर्षले पनि क्षेत्रीय तनाव बढाइरहेको छ। लेबनानी सेना प्रमुख जनरल रोडोल्फ हेकल मङ्गलबार पाकिस्तान पुगेका छन् । त्यहाँ उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनीरसँग भेटवार्ता गरेको बताइएको छ । क्षेत्रीय स्थायित्व र इरानसँगको सम्बन्ध सुधारका सम्भावित उपायबारे छलफल भएको अनुमान गरिएको छ ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्यान्न मूल्यमा व्यापक असर पारेको छ । अप्रिलमा भएको युद्धविरामपछि तनाव केही मत्थर भए पनि पछिल्ला सैन्य गतिविधिले मध्यपूर्व फेरि अस्थिरतातर्फ धकेलिने चिन्ता बढाएको छ ।एपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit