Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

गौतमबुद्ध रङ्गशाला निर्माणको १५ करोड रकम भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

गौतमबुद्ध रङ्गशाला निर्माणको १५ करोड रकम भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा
विज्ञापन
Advertisement

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौं पुगेको छ। महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौं पुगेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिका प्रमुख दाहालकाअनुसार टोलीले आज प्रधानमन्त्री, अर्थ मन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव, मन्त्रालयका सचिवहरुलाई भेटेर रङ्गशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ। महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भूक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिए ।

धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ। सङ्घीय सरकारले १५ करोड बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन । महानगर प्रमुख दाहालले भनिन्, ‘हामी यथासक्य छिटो भुक्तानी गर्न चाहन्छौँ । प्रक्रियामा सहजीकरण गरिदिनुप¥यो ।’ महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानुनका कारण असहज भएको बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार सङ्घीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो । सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न मिल्ने उनले बताए । उनले सो बजेट अनुदानका रुपमा प्राप्त नगरेकाले भुक्तानीमा नीतिगत अन्योल भएको बताए । उनले भने, ‘फाउण्डेशन मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा भ्याट तिर्नुपर्ने भएकाले यो विषय अड्किएको हो ।’

महानगरकै आग्रहमा फाउण्डेशनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो। फाउण्डेशनले छोडेपछि विसं २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बाग्मती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो। सो सहमतिपछि सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।

फाउण्डेशनले हस्तान्तरण गरेको निर्माण महानगरले विसं २०८१ को असारदेखि अगाडि बढाइसकेको छ। हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। फाउण्डेशनले ५७ करोड १२ लाख बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ। जसमध्ये १८ करोड ४३ लाख रुपैयाँ उधारो रहेको जनाइएको छ । फाउण्डेशनले विसं २०७५ माघ १६ मा काठमाडौंमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो।

त्यसलगत्तै फाउण्डेशन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो। जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रङ्गशाला बनाउन अनुमानित तीन अर्ब रुपैयाँ लागत लाग्ने र त्यो खर्च फाउण्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit