images images images
images images images
images
images
images

काठमाडौं महानगरले ४.२१ अर्ब राजस्व उठाउँदा ४.६४ अर्ब खर्च

images

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। जुन लक्ष्यको २७.८६ प्रतिशत हो । महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष राखेको थियो । जसमा आन्तरिकतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजश्व बाँडफाँटबाट ४ अर्ब ४ करोड ३४ लाख रुपैयाँ रहने अनुमान गरेको थियो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलका अनुसार पुस ९ गतेसम्म महानगरले आन्तरिक आयतर्फ कुल २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, राजश्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ संकलन गरेको उनले बताइन् । महानगरको आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको देखिन्छ । त्यस्तै, महानगरले राजश्व बाडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ र संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ। उप्रप्रमुख डंगोलले राजस्व संकलन सन्तोषजनक रहेको उल्लेख गरिन् ।

images
images

महानगरको खर्च १८.४८ प्रतिशत

महानगरले चालु आवको पुस ९ गतेसम्ममा ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ। जुन कुल वार्षिक विनियोजनको १८.४८ प्रतिशत हो । समग्रलाई खर्च प्रतिशतमा हेर्ने हो भने चालू खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत भएको छ । महानगरले चालु आवको लागि सञ्चितकोषमा व्ययभार पर्ने गरि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

त्यस्तै, पुस ९ गतेसम्ममा महानगरले कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ। पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको उपप्रमुख डंगोलले जानकारी दिइन् । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२.०६ प्रतिशत खर्च भएको छ।

विभागअनुसार विनियोजित बजेटमा खर्चको विश्लेषण गर्दा प्रशासन विभागले कुल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । सो मध्ये चालुतर्फ ४९.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च भएको छ । साथै, आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत, हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत र अन्तर्राष्ट्रियसम्बद्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।

महानगरको ७ नम्बर वडा कार्यालयमा बजेट खर्च धेरै

काठमाडौं महानगरको सबै वडा कार्यालयहरूमा निकासा हुने रकमका आधारमा खर्चलाई विश्लेषण गर्दा पुस ९ गतेसम्ममा कुल निकासा भएको रकममध्ये काठमाडौं महानगरपालिका वडा नं.७ ले सबैभन्दा धेरै ३१.५३ प्रतिशत खर्च गरेको छ। वडाले चालू खर्च शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगत खर्चमा ३२.३३ प्रतिशत बजेट खर्च गरेको हो । यस्तै, दोस्रोमा वडा नं.१६ ले कुल समग्र खर्च २६.१४ प्रतिशत गरेको छ भने वडा नं. २३ ले २३.३१ प्रतिशत खर्च गरेको देखिएको छ। वडा नं. १४ र वडा नं. १९ ले कमशः २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेका छन् ।

पूर्वाधार, विकास र प्रशासनिक खर्च घटाउने प्रस्ताव

यसैबीच, शुक्रबार १८औँ नगर अधिवेशनमार्फत उपप्रमुख डंगोलले पूर्वाधारसँगै अन्य केही क्षेत्रको बजेट कटौती गर्ने बताएकी छन् । उपमेयर डंगोलले चालु आर्थिक वर्षको बजेट संशोधनमार्फत विकास, पूर्वाधार, प्रशासनिक खर्च कम गर्ने प्रस्ताव राखेकी हुन्। स्वीकृत कुल बजेट रकम, चालू खर्च रकम तथा पूँजिगत खर्च रकममा कुनै थपघट नगरी उनले कार्यक्रमहरुमा मात्र संशोधनको प्रस्ताव पेश गरेको बताइन्। उनका अनुसार थपघट भएका रकम आयोजना तथा विकास योजनाहरुको पछिल्लो लागत मूल्यांकनका आधारमा गरिएको हो।

उनको संशोधित प्रस्ताव अनुसार चालु आवमा विकास बजेट एक करोडले घटाएर ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ कायम गर्न प्रस्ताव गरेकी छन् । विकास क्षेत्रमा यस अघि ६८ करोड ७४ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसैगरी कार्यालय संचालन तथा प्रशासनीक खर्च पनि घटाएर ३ अर्ब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरेकी छन् । यसअघि त्यसका लागि ३ अर्ब १२ करोड ४२ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको थियो।

यस्तै गरी डंगोलले पूर्वाधार विकास खर्चलाई पनि केही घटाएर १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ राख्न प्रस्ताव गरेकी छन् । तयसअघि पूर्वाधार क्षेत्रमा महानगरले १२ अर्ब १० करोड ८१ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो। यसैगरी उनले सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि पनि बजेटलाई केही कम गराउने गरी प्रस्ताव गरेकी छन् । महानगरको सामाजिक विकासतर्फ ५ अर्ब ८० करोड ४१ हजार रुपैयाँ प्रस्ताव उनको छ । यसअघि ५ अर्ब ८२ करोड ३३ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसैगरी, सुशासनतर्फ ३ अरब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेको उनले बताइन्। उक्त क्षेत्रमा महानगरले ३ अरब ३७ करोड ११ लाख ७२ हजार रुपैयाँ छुट्याएको थियो ।

डंगोलले आफ्ना संशोधित प्रस्ताव सभामा प्रस्तुत गर्दै भनिन्, ‘१७ औं अधिवेशनबाट स्वीकृत भएको काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधन सम्बन्धमा नगर सभाको १८औं अधिवेशनबाट वृहत्तर रुपमा छलफल गरी बाँकी कार्य अवधिमा कार्यान्वयन हुने गरी संशोधन प्रस्ताव स्वीकृत हुनेछ र यसले महानगरपालिकाको घोषित नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा प्रभावकारिता वृद्धि हुने अपेक्षा गरेको छु।’

 

images
images

प्रतिक्रिया दिनुहोस्