काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बैंक तथा वित्तीय संस्था हिसाबले कसरी हेरिएको छ । कृषि, पूर्वाधार अहिलेको बजेट कसरी समेटेको छ? अहिले देखिएको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ? यी र यस्तै विषयमा केन्द्रित रहेर गरिमा विकास बैंकका कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश :
बजेटलाई समग्र रूपमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सरसर्ती हेर्दा यो बजेट सकारात्मक देखिन्छ। बजेटले निजी क्षेत्रलाई केही राहत दिने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा कृषि र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रयास गरेको छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने र निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य राखेको देखिन्छ। तर नेपालको सन्दर्भमा बजेटको सफलताको आधार यसको घोषणा होइन, कार्यान्वयन हो। विगतमा पनि धेरै राम्रा बजेट आएका थिए, तर कार्यान्वयन कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेन। त्यसैले यो बजेटको वास्तविक प्रभाव आगामी केही महिनामा यसको कार्यान्वयनबाट मात्र मापन गर्न सकिन्छ।
बजेटले लिएको दिशा सही छ त ?
मेरो विचारमा बजेटले लिएको दिशा सही छ। अहिले देश पुरानो संरचनाबाट नयाँ आर्थिक सोचतर्फ अघि बढ्ने क्रममा छ। यस्तो अवस्थामा उत्पादन, कृषि, उद्योग र उद्यमशीलतालाई केन्द्रमा राखेर नीति ल्याइनु सकारात्मक पक्ष हो। सरकारले राम्रो अभ्यासलाई निरन्तरता दिँदै नयाँ सुधारलाई व्यवहारमा उतार्न सक्यो भने अर्थतन्त्रले गति लिन सक्छ। तर नीति बनाउनु मात्रै पर्याप्त हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र क्षमता पनि उत्तिकै आवश्यक हुन्छ।
अहिले अर्थतन्त्रमा सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?
अहिलेको सबैभन्दा ठूलो चुनौती विश्वासको संकट हो। बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ, ब्याजदर पनि विगतको तुलनामा सहज छ, तर कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। यसको मुख्य कारण व्यवसायी र लगानीकर्तामा आत्मविश्वासको कमी हो।कोभिडपछि व्यवसायिक वातावरण प्रभावित भयो र धेरै उद्यमीहरूले जोखिम लिन हिच्किचाउने अवस्था बन्यो। जबसम्म व्यवसायीहरूमा ‘अब लगानी गर्दा फाइदा हुन्छ’ भन्ने विश्वास पैदा हुँदैन, तबसम्म अर्थतन्त्रले अपेक्षित गति लिन सक्दैन।
यतिबेला निजी क्षेत्रले अहिले के चाहिरहेका छन् ?
निजी क्षेत्रले कुनै विशेष सुविधा भन्दा पनि स्थिर, पारदर्शी र विश्वासिलो वातावरण चाहिरहेको छ। व्यवसायीलाई कानुनी सुरक्षा, नीतिगत स्थायित्व र सहज लगानीको वातावरण चाहिएको छ। पछिल्लो समय कुनै गल्ती प्रमाणित नहुँदै व्यवसायीलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको छ। यसले उद्यमीहरूको मनोबल कमजोर बनाउँछ।
गलत काम गर्ने व्यक्तिलाई कारबाही हुनुपर्छ, तर पर्याप्त प्रमाण र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नु उपयुक्त हुन्छ। व्यवसाय गर्ने मानिसमा आत्मविश्वास जगाउनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।
कृषिलाई बजेटले पर्याप्त प्राथमिकता दिएको छ जस्तो लाग्छ ?
कृषि नेपालको सबैभन्दा ठूलो सम्भावना भएको क्षेत्र हो। हामीले कुनै समय झापाको धानले देशलाई खान पुग्छ र चितवनको तोरीले देशभर तेल पुग्छ भनेर पढेका थियौं। तर आज धान, चामल, तेल, फलफूलदेखि कोदोसमेत आयात गर्नुपर्ने अवस्था छ।
त्यसैले कृषिमा घोषणा मात्रै होइन, उत्पादन वृद्धि, बजार व्यवस्थापन, प्रविधि, मलबीउ, सिंचाइ, सहुलियत कर्जा र निर्यात प्रवद्र्धनमा केन्द्रित कार्यक्रम आवश्यक छ। सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ भने अब त्यसलाई निर्यातयोग्य उत्पादन बनाउने दीर्घकालीन योजना पनि ल्याउनुपर्छ ।
धितोबिनाको कर्जा दिने राष्ट्र बैंकले दिने व्यवस्था गरेको छ, जोखिम हुन्छ कि हुँदैन ?
धितोबिनाको कर्जा आवश्यक छ, विशेषगरी नयाँ उद्यमी र स्टार्टअपका विषयमा बैंकहरूले जनताको निक्षेप परिचालन गर्ने भएकाले जोखिम व्यवस्थापनलाई पनि उत्तिकै महत्व दिनुपर्छ। बैंकको पहिलो जिम्मेवारी निक्षेपकर्ताको पैसा सुरक्षित राख्नु हो।
त्यसैले धितोबिनाको कर्जालाई बीमा, सरकारी ग्यारेन्टी वा अन्य सुरक्षा संयन्त्रसँग जोडेर अघि बढाउन सकिन्छ। जोखिमको डरले काम नै नगर्ने होइन, जोखिमको सही मूल्यांकन गरेर अवसर सिर्जना गर्नुपर्छ।
सरकारले अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल बढाउन के गर्नुपर्छ ?
सम्भव त छ, तर त्यसका लागि निजी क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। उत्पादन, उद्योग, कृषि, पर्यटन र निर्यातमुखी क्षेत्रलाई तीव्र गतिमा विस्तार गर्नुपर्ने हुन्छ। आर्थिक वृद्धिको लक्ष्य केवल सरकारी खर्चले पूरा हुँदैन, निजी क्षेत्रको लगानी र बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जाले पनि ठूलो भूमिका खेल्छ। त्यसैले सरकार, बैंक र निजी क्षेत्रबीच समन्वय र विश्वास बढाउन आवश्यक छ।
घरजग्गा र शेयर बजारले अहिले गति लिन सकेको देखिदैन, किन यस्तो भएको हो ?
घरजग्गालाई केवल उपभोगको क्षेत्र भनेर हेर्नु उचित हुँदैन। एउटा घर निर्माण हुँदा सिमेन्ट, छड, रंगरोगन, फर्निचर, यातायात, मजदुरीलगायत दर्जनौं क्षेत्र चलायमान हुन्छन्। यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ। तर उत्पादनशील उपयोगबिना ठूलो मात्रामा जग्गा किनेर राख्ने प्रवृत्तिले भने बजारमा असन्तुलन ल्याउन सक्छ। त्यसैले घरजग्गा क्षेत्रलाई व्यवस्थित र उत्पादनमुखी बनाउने नीति आवश्यक छ।
अन्त्यमा, नेपालको आर्थिक भविष्यलाई कसरी हेर्नुहुन्छ ?
म नेपालको भविष्यप्रति आशावादी छु। हाम्रो समाजमा अझै पनि ‘हामी साना छौं, हामीले सक्दैनौं’ भन्ने मनोविज्ञान देखिन्छ। तर विश्वको सन्दर्भमा हेर्दा नेपाल सम्भावनाले भरिएको देश हो। हामीसँग प्राकृतिक स्रोत, युवा जनशक्ति र भौगोलिक अवसर छन्। अब आवश्यक कुरा भनेको आत्मविश्वास, सकारात्मक सोच र उत्पादनमुखी आर्थिक दृष्टिकोण हो। इतिहासका कमजोरीलाई स्वीकार गर्दै सुधारका साथ अगाडि बढ्न सकियो भने नेपालले आर्थिक विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ।















प्रतिक्रिया दिनुहोस्