काठमाडौं । नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू शेयर निष्काशनको तयारीमा जुटेका छन्।
धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका कम्पनीहरूको सूचीले आगामी दिनमा पूँजी बजारको संरचनामा परिवर्तन आउने संकेत दिएको छ।
हालसम्म बजारमा आउने अधिकांश आईपीओ जलविद्युत क्षेत्रका कम्पनीहरूका हुने गरेकाले लगानीकर्ताको क्षेत्रगत विविधीकरण सीमित थियो। तर अब सिमेन्ट, स्टिल, सञ्चार तथा लगानी क्षेत्रका प्रतिष्ठित कम्पनीहरू सार्वजनिक निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीमा लगानी गर्ने अवसर पाउने भएका छन्।
सेबोनको पाइपलाइनमा रहेका प्रमुख कम्पनीहरूमा जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, गोदावरी स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट्स, रिद्धिसिद्धि सिमेन्ट तथा सुभश्री अग्नि सिमेन्ट उद्योग रहेका छन्। यस्तै, डिश मिडिया नेटवर्क (डिशहोम) र शिवम् होल्डिङ्सजस्ता कम्पनीहरूले पनि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताएका छन् ।
बजार विश्लेषकहरूका अनुसार उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको शेयर बजारमा प्रवेशले पूँजी बजारको गुणस्तर सुधार गर्न केही मद्दत पुग्नेछ। जलविद्युत क्षेत्रको तुलनामा यस्ता उद्योगहरूको आम्दानी स्रोत, नगद प्रवाह तथा व्यवसायिक गतिविधि अधिक हुने भएकाले लगानीकर्ताले नयाँ र फराकिलो विकल्प प्राप्त गर्ने विश्लेषण गरिएको छ।
विशेषगरी सिमेन्ट र स्टिल उद्योगहरू देशको पूर्वाधार विकाससँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्र भएकाले यस्ता कम्पनीहरूको सूचीकरणले वास्तविक अर्थतन्त्र (रियल सेक्टर) र पूँजी बजारबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।
तर, केही कम्पनीहरूले उच्च प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरिरहेकाले लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, नाफा, सम्पत्ति, ऋण दायित्व तथा भविष्यको व्यावसायिक सम्भावनाको अध्ययन गरेर मात्र लगानी निर्णय लिनुपर्ने विज्ञहरूको सुझाव छ।
बजार जानकारहरूका अनुसार उत्पादनमूलक कम्पनीहरूको संख्या बढ्दै जानु नेपाली पूँजी बजार परिपक्व बन्दै गएको संकेत हो। यसले जलविद्युत कम्पनी केन्द्रित बजारलाई बहुआयामिक बनाउनुका साथै दीर्घकालीन रूपमा बजारको स्थायित्व र लगानीकर्ताको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्