काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गरेपछि यसले वित्तीय क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने आम चासोको विषय बनेको छ । बजेटले जीवन बीमा क्षेत्रका सम्बन्धमा के कस्तो प्रभाव पर्छ, बजेटको समीक्षा, जीवनको बीमाको अवस्था लगायत विषयमा केन्द्रित रहेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश :
सरकारले हालै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। तपाईंको दृष्टिकोणबाट यो बजेटलाई कसरी हेर्नुभएको छ ?
बजेटलाई म समग्रमा सकारात्मक रूपमा हेर्छु । हरेक वर्ष सरकारको बजेट आउँछ, कुनै राम्रो हुन्छन्, कुनै औसत र कुनै अपेक्षाअनुसार नहुन पनि सक्छन् । तर बजेटको वास्तविक सफलता त्यसको कार्यान्वयनमा निर्भर हुन्छ । कागजमा राम्रो देखिएको बजेट पनि प्रभावकारी रूपमा लागू हुन सकेन भने त्यसले अपेक्षित परिणाम दिन सक्दैन ।
यस वर्षको वार्षिक बजेट विगतका वर्षको तुलनामा केही ठूलो आकारको छ । बीमा क्षेत्रको दृष्टिकोणबाट हेर्दा सरकारले बीमा क्षेत्रलाई केही प्राथमिकता दिएको देखिन्छ । विशेषगरी निर्जीवन बीमा, त्यसमा पनि घर बीमालाई विशेष प्रोत्साहन गर्ने व्यवस्था सकारात्मक देखिन्छ । घर बीमा गर्दा पाइने कर छुटको सीमा बढाइनु पनि स्वागतयोग्य कदम हो ।
त्यसैगरी मध्यम वर्गका नागरिकको खर्चयोग्य आम्दानी बढाउने उद्देश्यले करका केही व्यवस्था परिमार्जन गरिएको छ । कर प्रणालीलाई सरल बनाउने, डिजिटल कारोबारलाई प्रोत्साहन गरी कर दरभन्दा पनि दायरा बढाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रयास पनि बजेटको सकारात्मक पक्ष देखिन्छ । बीमा अभिकर्ताको कमिसनसम्बन्धी करको व्यवस्थालाई स्पष्ट बनाइएको छ, जसले अभिकर्ताहरूलाई अनावश्यक कर जटिलताबाट राहत दिनेछ ।
पूर्वाधार निर्माण, समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता र सुशासनमा जोड दिइएको विषय पनि सकारात्मक छन् । यदि सरकारले योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्यो भने यो बजेटले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ ।
केही बीमा कम्पनीहरू प्रिमियम संकलनमा अत्यधिक आक्रामक भएको आरोप लाग्ने गरेको छ। यसलाई कसरी हेर्नुहुन्छ ?
बीमा व्यवसाय आफैंमा सेवामूलक व्यवसाय भएकाले बजार विस्तारका लागि सक्रियता आवश्यक हुन्छ । तर केवल प्रिमियम संकलनको आधारमा कम्पनीको सफलता मापन गर्नु पर्याप्त हुँदैन । यदि प्रिमियम संकलनमा अनावश्यक आक्रामक भइयो भने गुणस्तरीय बीमामा नकारात्मक प्रभाव पर्न सक्छ । बीमा कम्पनीको वास्तविक अवस्था बुझ्न शाखा सञ्जाल, सञ्चालन खर्च, नाफा, दायित्व व्यवस्थापन, नवीकरण प्रिमियमको अवस्था, स्तरीय प्रविधिमैत्री ग्राहक सेवा र चुस्त दाबी भुक्तानी जस्ता धेरै पक्ष हेर्नुपर्छ ।
जीवन बीमाको पहिलो उद्देश्य आर्थिक जोखिम व्यवस्थापन हो भने लगानी त्यसपछि मात्र आउँछ । लगानीलाई पहिलो उद्देश्य मानेर बीमा गर्न थालियो भने कालान्तरमा बीमाको मुल सिद्धान्तबाट हामी विचलित हुनेछौं । आजको अवस्थामा ब्याजदर घटेको छ । त्यसैले विगतमा जस्तो उच्च बोनस दिन सक्ने अवस्था सबै कम्पनीमा छैन । कम्पनीले तयार गर्ने बीमालेख समयअनुसार समीक्षा गर्दै लैजानुपर्छ । बजार अवस्था, मृत्यु दर, लगानी प्रतिफल लगायतका आधारमा बीमालेखको प्रतिफलमा फरक पर्न सक्छ ।
त्यसैले केवल प्रिमियम बढेको आधारमा कम्पनी राम्रो वा नराम्रो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । कम्पनी राम्रो हुनको लागि केही क्षणको लागि बलुन फुले जस्तो नभएर सस्टेनेबल ग्रोथमा ध्यान दिन एकदम आवश्यक छ ।
पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्ने संख्या बढेको चर्चा छ । यसको कारण के हो ?
पोलिसी सरेन्डर हुनु बीमा व्यवसायको नियमित प्रक्रियाका रुपमा नै लिन सकिन्छ । यसको एउटै मात्र कारण हुँदैन । बीमा पोलिसी सरेण्डर हुनुको पछाडि आर्थिक, व्यावसायिक तथा व्यवहारगत कारणहरूको जटिल संयोजन रहेको हुन्छ ।
सबैभन्दा प्रमुख कारण भनेको आर्थिक कठिनाइ हो । बढ्दो मुद्रास्फीति, ब्याजदरमा आएको परिवर्तन र आम्दानीमा आएको अनिश्चितताले गर्दा बीमितहरूमा दीर्घकालीन दायित्व निर्वाह गर्न असमर्थ भएको अवस्थामा बीमा पोलिसी सरेन्डर हुने गर्दछ । जब परिवारमा आकस्मिक आर्थिक संकट आउँछ, तब मानिसहरू भविष्यको सुरक्षाभन्दा तत्कालीन आवश्यकतालाई प्राथमिकता दिन्छन् र पोलिसी सरेण्डर हुने गर्दछ ।
यसका साथै मिस सेलिङको समस्या पनि उत्तिकै गम्भीर छ । ग्राहकको वास्तविक आवश्यकता र प्रीमियम तिर्ने क्षमताको मूल्यांकन नगरी केवल सेल्स टार्गेट पूरा गर्ने उद्देश्यले पोलिसी बिक्री गर्दा पछि आर्थिक बोझ बन्न पुग्छ र बीमितले बाध्य भएर पोलिसी त्याग्नु पर्ने अवस्था आउँछ ।
बीमा सुरु गर्दाको समयमा आम्दानी राम्रो हुँदा ठूलो बीमाङ्कको पोलिसी लिएका बीमितहरू पछि आम्दानी घट्दा त्यसलाई निरन्तरता दिन कठिन हुन्छ । साथै, स्पष्ट उद्देश्य बिना लिइएको पोलिसी लोन समयमा फिर्ता गर्न नसक्दा अन्ततः पोलिसी नै सरेण्डर गर्नुपर्ने बाध्यता आउँछ ।
समग्रमा भन्नुपर्दा, बीमा पोलिसी सरेण्डरको बढ्दो दर बीमा व्यवसायका लागि एउटा चुनौतीका रुपमा रहेको छ । यसलाई नियन्त्रण गर्न एकातिर बीमा कम्पनीहरूले गुणस्तरीय बीमा बिक्रीको अभ्यास अपनाउनु आवश्यक छ भने अर्कातिर नीति नियम नै बनाएर सरेण्डर गर्न पाउने न्यूनतम अवधि दुई वर्षबाट बढाई तीन वर्ष कायम गरिसकेको छ ।
यी सुधारात्मक कदमहरूका बावजुद दीर्घकालीन समाधानका लागि बीमितमा बीमा सचेतना अभिवृद्धि र कर्मचारी अभिकर्ताको व्यावसायिक जवाफदेहिता सुनिश्चित गर्नु अपरिहार्य देखिन्छ ।
बीमा क्षेत्रका अहिलेका मुख्य चुनौतीहरू के–के हुन् ?
बीमा क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको गुणस्तरीय बीमालेख, बीमा सचेतना, लगानीको प्रतिफल, अस्वस्थ प्रतिस्पर्धा नै हुन् । त्यसैगरी नयाँ बीमालेख विकास, लगानीका नयाँ क्षेत्र खोज्ने, अभिकर्ता तथा कर्मचारीको क्षमता बृद्धि, सोचमा परिवर्तन, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने तथा ग्राहकको विश्वास बढाउने काममा ध्यान दिनुपर्छ । कम्पनीहरूले पनि आन्तरिक सुशासन, पारदर्शिता र व्यावसायिक अनुशासनलाई प्राथमिकता दिन आवश्यक छ । यदि नियामक निकाय, कम्पनी र अभिकर्ता सबैले जिम्मेवार ढंगले काम गरे भने बीमा क्षेत्रको भविष्य निकै उज्ज्वल छ ।
नेपालमा टर्म लाइफ इन्स्योरेन्स अपेक्षाकृत कम चर्चामा किन छ ?
टर्म लाइफ (म्यादी बीमा) बीमाको मुख्य उद्देश्य न्यूनतम बीमा शुल्कमा अधिकतम आर्थिक जोखिम बहन गर्नु हो । यसमा बीमित व्यक्ति सुरक्षित हुन्छ, तर अवधि समाप्त भएपछि प्रिमियम फिर्ता हुँदैन । यही कारण धेरै नेपाली ग्राहकहरू यसतर्फ आकर्षित हुन सकेका छैनन् ।
नेपालमा अझै पनि धेरै मानिस जीवन बीमालाई बचत वा लगानीसँग जोडेर हेर्छन् । तर टर्म लाइफ बीमाले आर्थिक सुरक्षालाई प्राथमिकता दिन्छ । विकसित देशहरूमा यो निकै लोकप्रिय छ र नेपालमा पनि बिस्तारै यसको बारेमा चेतना बढ्दै गएको छ ।
प्रभु महालक्ष्मी लाइफको आगामी रणनीति के छ ?
हाम्रो लक्ष्य केवल प्रिमियम संकलन बढाउनु मात्र होइन, दिगो र गुणस्तरीय वृद्धि हासिल गर्नु हो । कम्पनीको आर्थिक आधार बलियो बनाउने, ग्राहकलाई उत्कृष्ट सेवा दिने र दीर्घकालीन रूपमा लाभदायक व्यवसाय निर्माण गर्ने हाम्रो प्राथमिकता हो । हामीले पछिल्ला वर्षहरूमा निरन्तर राम्रो प्रतिफल दिन सफल भएका छौं । कम्पनीको सोल्भेन्सी अवस्था पनि नियामकीय मापदण्डभन्दा धेरै राम्रो छ । त्यसैले हामी संख्यामा भन्दा गुणस्तरमा बढी ध्यान दिँदै अघि बढिरहेका छौं ।
बीमा गर्दा ग्राहकहरूले विशेष ध्यान दिनुपर्ने कुरा के हो ?
सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्नु हो । धेरै ठूलो पोलिसी लिएर पछि प्रिमियम तिर्न नसक्ने अवस्था आउनु हुँदैन ।बीमा गर्ने क्रममा सबै सर्तहरू बुझ्नुपर्छ । अभिकर्ताले पनि ग्राहकलाई स्पष्ट रूपमा जानकारी दिनुपर्छ । बीमा भनेको दीर्घकालीन सम्झौता भएकाले यसबारेमा स्पष्ट जानकारी लिएर मात्र अगाडि बढ्नु पर्छ र उमेर कम हुँदा बीमा शुल्क पनि कम हुने भएकाले जतिसक्दो चाडो बीमामा आवद्ध हुनु लाभदायक हुन्छ । त्यसैगरी स्वास्थ्य अवस्था वा अन्य महत्वपूर्ण विवरण लुकाएर बीमा गर्नु हुँदैन । सही जानकारीका आधारमा गरिएको बीमामा दाबी भुक्तानीमा कहिल्यै समस्या आउँदैन ।
अन्त्यमा, बीमाबारे आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
बीमा भनेको भविष्यको आर्थिक सुरक्षाको आधार हो । आज सानो–सानो रकम बचत गरेर भविष्यका जोखिमबाट आफू र परिवारलाई सुरक्षित बनाउन सकिन्छ । जीवनमा कहिले के परिस्थिति आउँछ भन्ने कसैले अनुमान गर्न सक्दैन । त्यसैले आफ्नो आवश्यकता र क्षमताअनुसार जीवन बीमा अवश्य गर्नुहोस् । बीमा केवल बचत मात्र होइन, भविष्यप्रतिको जिम्मेवारी र आत्मविश्वास पनि हो । सुरक्षित भविष्यका लागि बीमालाई जीवनको आवश्यक आर्थिक योजना बनाउनु आजको आवश्यकता हो । त्यसकारण ढुक ढुक हैन, ढुक्क भइ जीवन बीमा गर्नुहोस् ।















प्रतिक्रिया दिनुहोस्