Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल

बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल
विज्ञापन
Advertisement

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ५५ दिन बाँकी रहेकाले देशको सुरक्षा अवस्था संवेदनशील बनेसँगै राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिको आज बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती, बारुदी सुरुङको जोखिम तथा त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । बैठकमा समिति सभापति मायाप्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिले अपनाइएका तयारी, योजना तथा चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराएकी थिइन्।

उनले बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थको जाँच, व्यवस्थापन र नष्ट गर्ने कार्यमा हालसम्म केकस्ता उपलब्धि भएका छन् र आगामी दिनमा कस्ता योजना अघि बढाइँदैछन् भन्ने विषयमा स्पष्ट जानकारी दिन समय उपलब्ध गराएकी हुन् । सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेलापरेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गरे । उनले विगतमा राखिएका माइन तथा विस्फोटक पदार्थका कारण नागरिकमा डर र त्रास उत्पन्न हुनसक्ने अवस्था अझै पनि विद्यमान रहेको उल्लेख गरे ।

विस्फोटक पदार्थसम्बन्धी सूचना सङ्कलन र जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले स्थानीय तहसम्म सूचनाको पहुँच विस्तार गर्न सकेमा जोखिम कम गर्न सहज हुने धारणा राख्नुभयो । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा चर्तुवेदीले ग्रामीण क्षेत्रमा विष्फोटक पदार्थ र माइनहरू कहिले गाईगोठमा कहिले खेतबारीमा भेटिने गरेको अनुभव सुनाउँदै त्यसले स्थानीय नागरिकमा त्रास उत्पन्न गराएको उल्लेख गरिन्। नेपाल प्रहरीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायसँगको सहकार्यमा निरन्तर सूचना सङ्कलन र निगरानी गरिरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘हाम्रो सूचनामा आएअनुसार भेटिएका माइन तथा विस्फोटक पदार्थहरू नेपाली सेनामार्फत सुरक्षित रूपमा डिस्पोज गराउँदै आएका छौँ । हालसम्म ७५ वटा विस्फोटका घटना भएका छन्भने ती घटनामा २२ जना नागरिक घाइते भएका छन् ।’ आमनागरिकलाई शङ्कास्पद वस्तु देखेमा नछुने र तुरुन्तै सुरक्षा निकायलाई जानकारी दिनुपर्ने चेतनाको विकास गर्नुपर्ने धारणा उनको छ । साथै विस्फोटक पदार्थ राख्ने व्यक्तिले समय बित्दै जाँदा राखेको स्थान बिर्सने र त्यसका कारण अनभिज्ञ नागरिकले छुँदा दुर्घटना हुने गरेको घटनाप्रति उनले गम्भीर चासो व्यक्त गरिन् ।

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडामगरले केही स्थानमा साना समूहद्वारा गराइएका विस्फोटका घटनाले नागरिकमा भय सृजना गरेको बताए । कपिलवस्तुलगायत केही जिल्लाका सडक क्षेत्रमा विस्फोटका घटना देखिएका उल्लेख गर्दै उनले यस्ता गतिविधिलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी सुक्ष्म निगरानी र कडा सुरक्षा रणनीतिसहित परिचालित भइरहेको जानकारी दिए ।

उनले भने , ‘आतङ्क फैलाउने उद्देश्यले गरिने यस्ता गतिविधिमा संलग्न समूहको निगरानी गर्दै आवश्यक कारबाहीका लागि हामी सतर्क रूपमा लागिपरेका छौँ ।’ बैठकमा सहभागी सदस्यहरूले निर्वाचनको समयमा हुनसक्ने सम्भावित जोखिम, बारुदी सुरुङ नियन्त्रणमा सुरक्षा निकायको भूमिका, नागरिक सचेतना तथा अन्तर–निकाय समन्वयलाई थप प्रभावकारी बनाउने उपायलगायत विषयका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit