काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अब मधेसका जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन्।
सोमबार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संघको अधिकार प्रदेश र प्रदेशको अधिकार स्थानीय तहमा पुर्याउनुपर्ने महशुस गरेरै आफू राजनीतिमा आएको अथ्र्याए । विशेषगरी बालेनले आफू काम गर्ने मान्छे भएको र काम गर्नकै लागि निर्वाचनमा जान लागेको बताएका हुन् । मेयर हुँदा सीमित अधिकारका कारण सबैको समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै बालेनले आफू केन्द्रीय राजनीतिमा आउनुको कारणबारे जनपुर पुगेर भने, ‘मधेसका उखु किसान माइतीघरमा आउँदा मैंले केही गर्न सकिन किनकी म मेयर मात्र थिए । तर अब म तपाईंहरुको साथमा छु किनकी म अब केन्द्रीय राजनीतिमा आएको छु ।’
रास्वपाले विशेषगरी मधेशी जनताले अधिकार माग्न सधैं काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बालेनको दाबी छ। उनले भने,‘काठमाडौं घुम्न जानुहोस्। पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । अब अधिकार माग्न जाने होइन् । त्यो अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ ।’ उनले आफूले महानगरमा काम गरेर देखाएको बताउँदै भने, ‘म काम गर्ने मान्छे हुँ, काम गरेर देखाउँछु। मलाई काम गर्न दिनुहोस्, जसरी काठमाडौं महानगरवासीले मलाई काम गर्न दिए र मैले काम गरेर देखाएँ। त्यसरी नै मलाई काम गर्न दिनुहोस्।’
यस्तै उनले राजनीतिमा सबैले समाजवाद र लोकतन्त्रको कुरा गरे पनि त्यो व्यवहारमा लागू नभएको बताए । तर, उनले मेयरको कार्यकालमा काठमाडौं महानगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा वास्तविक समाजवाद लागू गरेको प्रस्ट पारे । ‘अहिले सबैजना समाजवाद र लोकतन्त्रका कुरा गर्छन् । तर समाजवाद कहाँ छ ? बालेनले प्रश्न गर्दै भने,‘ काठमाडौं महानगरपालिकाले हरेक वर्ष २०,००० विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । महँगा कलेजहरूमा निःशुल्क पढ्न पाउँछन् । बिना भिसा, बिना टिकट, विदेश नगइकन स्वदेशमै महँगा कलेजमा २०,००० विद्यार्थी निःशुल्क पढ्नु नै ‘समाजवाद’ हो । महँगा अस्पतालमा विपन्नका लागि १०५ बेड निःशुल्क हुनु नै ‘समाजवाद’ हो ।’
यस्तै, उनले काठमाडौं महानगरमा भएको समाजवादलाई देशैभरी विस्तार गर्न रास्वपा सक्षम पार्टी भएको बताए । ‘जुन समाजवाद काठमाडौं महानगरमा छ, त्यही समाजवाद सातै प्रदेश र ७५३ वटै पालिकामा चाहिन्छ । चाहिन्छ कि चाहिँदैन रु राम्रोसँग भन्नुहोस्, चाहिन्छ कि चाहिँदैन ?’बालेनले प्रश्न गरे ।
यस्तै उनले काठमाडौंमा बसेर मन्दिर, पाटीपौवा, पोखरी र फल्चाहरूको संरक्षण गरेको उल्लेख गरे । मिथिला र जनकपुरका पोखरी, मन्दिर र पाटीपौवाहरू कसैले आएर संरक्षण गरिदेला कि भनेर पर्खेर बसेको उल्लेख गर्दै उनले यो पार्टी रास्वपा भएको जिकिर गरे । बालेनले भने, ‘त्यो कोही भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। यहाँका मन्दिर र भूमिको संरक्षण रास्वपाले गर्नेछ ।’
यस्तै, उनले जनकपुरको ऐतिहासिक सम्पदा जानकी मन्दिर एक्लैले लाखौं पर्यटक भित्र्याउन सक्षम भएको पनि बताए । उनले भने, ‘मिथिलाको यो पावन भूमिमा एउटा कुरा भन्न चाहन्छु- पूरा देशमा वार्षिक जम्मा १० लाख पर्यटक आउँछन्। तर भारतको अयोध्यामा वर्षमा १० करोड पर्यटक पुग्छन्। जानकी मातासँग एक्लै १ करोड पर्यटक तान्ने क्षमता छ।’
भाषणका क्रममा बालेनले प्रधानमन्त्रीका लागि सही मान्छे आउनुपर्ने उल्लेख गर्दै त्यो पात्र आफूनै भएको बताए ।

















प्रतिक्रिया दिनुहोस्