काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा मिचिएको सम्बन्धी अभिव्यक्तिलाई ‘आत्मघाती’ भन्दै त्यसबारे संसद्मा स्पष्ट जवाफ माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले विशेष समय लिएर बोल्दै प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको रहेछ भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए । उनले सो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले रोस्ट्रमबाटै दिनुपर्ने अडान राख्दै भने, ‘सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्नुभएको हो?’ सचेतक राईले भने, ‘के स्वार्थ पूरा गर्न चाहेको हो ? यसको जवाफ हामीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्ट्रमबाट दिनुपर्छ ।’ अनि मात्र हामी सदनमा सहकार्य गर्छौं ।’
कांग्रेसले देशको राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषयमा देशको कार्यकारी प्रमुखबाटै यस्तो हलुका र राष्ट्रहित विपरीतको टिप्पणी आउनु निन्दनीय भएको उल्लेख गरेको छ । सचेतक राईले कार्यकारी प्रमुखबाटै राष्ट्रियतामाथि ‘धावा’ बोलिएको भन्दै उक्त अभिव्यक्ति नसच्चिएसम्म संसद्मा सहकार्य गर्न नसकिने प्रस्ट पारे । सो बारे उनले प्रधानमन्त्रीलाई रुलिङ गर्न समेत सभामुखसँग माग गरे । ‘हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको ‘धावा’ करेक्सन नभएसम्म सदनमा अगाडि सहकार्य गर्न सकिँदैन । रुलिङ होस् सभामुख महोदय ।’
यस्तै राईले नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिए । उनले भने, ‘सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ। फेरि यहीं संसदको रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ–कहाँ भारतको सीमा मिचेको छ भनेर एक –एक इन्चको हिसाब हामीलाई दिनुपर्छ’ उनले भने, ‘हामीलाई हिसाब चाहिन्छ ।यो राष्ट्रिय स्वाभिमानको र सुरक्षाको विषय हो ।’

















प्रतिक्रिया दिनुहोस्