Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमालेको घोषणापत्र : अर्थतन्त्रको आकार पाँच वर्षमा १०० खर्बको पुर्याउने, ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने

एमालेको घोषणापत्र : अर्थतन्त्रको आकार पाँच वर्षमा १०० खर्बको पुर्याउने, ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेले आर्थिक वृद्धिदर ७ देखि ९ प्रतिशत पुर्‍याउने महत्त्वाकांक्षी योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोर्‍याएको छ।

विज्ञापन
Advertisement
Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित सार्वजनिक घोषणापत्रमा ठूलो आकारको आर्थिक विकास, राजगारी, सामाजिक सुरक्षा र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । एमालेले घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ ओटा आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।

अर्थतन्त्र १०० खर्ब पुर्याउने

एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार झन्डै दोब्बरले बढाउने लक्ष्य राखेको छ । पाँच वर्षमा देशको अर्थतन्त्र फराकिलो बनाउँदै १०० खर्ब र १० वर्षभित्र २०० खर्ब पुर्‍याउने लक्ष्य राखेको छ। आर्थिक सर्वेक्षण अनुसार हाल नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब माथि छ । यस्तै, आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने र आर्थिक वृद्धिदर ७ देखि ९ प्रतिशत पुर्‍याउने महत्त्वाकांक्षी योजना पनि घोषणापत्रमा छ।

आगामी फागुन २१ को निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी सहित सार्वजनिक गरिएको घोषणापत्रमा आफ्नो सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयन सुरु गर्ने गरी ११ वटा मुख्य कामहरूको सूची राखिएको छ । ती सूचीमा युवालाई आकर्षण गर्ने गरी रोजगारी र सामाजिक सुरक्षाका विषयलाई प्राथमिकता दिइएको छ । नि ःशुल्क इन्टरनेट, डलर कार्ड, विद्यार्थीलाई निशुल्क खाजाको व्यवस्था गरिदिने जस्ता योजनाहरुमा युवाको ध्यान खिच्न एमालेले सक्दो प्रयास गरेको औंल्याउन सकिन्छ ।

के हुन् एमालेले तत्काल गर्ने ११ योजना

निशुल्क इन्टरनेट : १८ देखि २८ वर्षका युवाका लागि मासिक १० जिबी डाटा नि ःशुल्क उपलब्ध गराउने पपुलर योजना एमालेले अघि सारेको छ ।

डलर कार्ड: युवा उद्यमीहरूलाई अनलाइन व्यापारका लागि १० हजार डलर बराबरको डलर कार्ड दिने, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बैंकमार्फत पैसा पठाउँदा वार्षिक ५ हजार एमालेले थप बोनस दिने,
विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि २० लाखसम्म निर्ब्याजी ऋण र सशुल्क इन्टर्नसिपको व्यवस्था गर्ने बताइएको छ।

यसैगरी, शिक्षामा राहत दिनेगरी एमालेले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा र सबै किशोरीलाई नि ःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा एमालेको छ । श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्‍याउने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने र सामाजिक सुरक्षामा आबद्ध गर्ने, स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार पुर्‍याउने पनि एमालेका तत्काल गर्ने कार्यमा समेटिएका छन् । यस्तै, महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको नि ःशुल्क जीवन बीमा सेवा दिने, विपन्न परिवारले बैंकबाट लिएको २५ हजारसम्मको ऋण मिनाहा गरिदिने तथा सुरक्षाकर्मीहरूलाई सेवा सुविधा बढाउनेलगायतका ११ ओटा काम एमालेले गर्ने घोषणा गरेको छ ।

७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब र दश वर्षमा दुई सय खर्ब रुपैयाँको बनाउन तथा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य पूरा गर्न एमालेले सम्पूर्ण राष्ट्रिय स्रोत, साधन र सामर्थ्य परिचालन गर्ने बताएको छ। विशेषगरी कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्ने एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ।

समृद्धिका २५ स्तम्भ 

एमालेले समृद्धिका २५ वटा स्तम्भहरू पहिचान गरेको छ । जसमा ‘स्वदेशमै रोजगारी, स्वदेशमै काम’, ‘आधुनिक खेती, उन्नत व्यवसाय’, ‘स्वच्छ ऊर्जा र हरित विकास’, ‘गतिशिल गाउँ, आधुनिक सहर, आर्थिक विकासको नयाँ लहर’, उद्योग क्षेत्रमा २० प्रतिशतको आर्थिक वृद्धि, आयात र निर्यात बीचको भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने, डिजीटल पूर्वाधार विकास गर्ने लगायतका रहेका छन् । ५ वर्षभित्र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी एमालेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit