काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विद्यमान आयकरको सीमा पुनरावलोकन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
हालै निजी क्षेत्रका प्रतिनिधिहरूसँगको विशेष छलफलमा उनले आयको ५० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था न्यायोचित नभएको उल्लेख गर्दै कर प्रणालीमा सुधारको सङ्केत गरेका हुन् । उनले भनेका छन्,‘आय करमा सीमा घटाउने कुरामा सरकार सकारात्मक छ । आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं ।’
उद्योगी–व्यवसायीका समस्या सुन्न आयोजित उक्त कार्यक्रममा सभापति लामिछानेले रास्वपाको बाचापत्रले वास्तविक अर्थतन्त्रको सुधार र निजी क्षेत्रको उत्थानका लागि स्पष्ट रोडम्याप तय गरेको दाबी गरे । अर्थतन्त्रमा अस्वाभाविक नियन्त्रण जमाउन खोज्नेलाई कडाइ गरिने तर इमान्दार व्यवसायीलाई सरकारले पूर्ण सुरक्षा दिने उनले प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।
यस्तै, लामिछानेले जलविद्युत् क्षेत्रमा घाटामा रहेका कम्पनीलाई आईपीओ ल्याउन नदिने उनले प्रस्ट पारे । ‘ विद्युत आयोजनामा अरु कम्पनी लाइसेन्सको विषयमा १० औं २० औं वर्ष लाग्ने समस्यालाई सरकारले द्रुत गतिमा काम गर्न चाहिरहेको छ । यसमा छिटो लाइसेन्स प्रदान गर्नेदेखि काम गर्ने गराउनेमा सरकार लागि पर्छ ।’
यसैबीच उनले निजी क्षेत्रलाई डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै रास्वपाको राजनीति अर्थराजनीति भएको बताए । उनले भने ‘तपाईंहरूको सरोकारमा विमति राख्ने ठाउँ छैन, हामी समाधानमुखी ढङ्गले अघि बढ्छौं। हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो, जहाँ सही नीति बनाएर निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ।’
करको बोझ घटाउने र प्रक्रियागत झन्झट अन्त्य गर्ने कुरालाई निजी क्षेत्रले पनि सकारात्मक रूपमा लिएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्