रामेछाप। आज (विहीबार) बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ ।
विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो ।

प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ ।

images
images

यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।
तीनदिनदेिख बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण पछि यातायात सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण राजमार्ग बन्द गरिएको हो ।

रोशी खोलामा सामान्य बाढी आउँदा समेत डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ । अस्थायी रूपमा बनाइएको सडक खोलाको बहावमै रहेकाले सानो बाढी आउने बित्तिकै सडक बन्द हुने गर्दछ ।

प्रहरीले मौसमको अवस्था र खोलामा आउन सक्ने बाढीलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ । स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरेर पुनः यातायात सञ्चालनको जानकारी गराइने जिल्ला प्रहरी कार्यालय काभ्रेले उल्लेख गरेको छ ।

बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। दैनिक सयौँ सार्वजनिक तथा निजी सवारी सञ्चालन हुने यस सडकमा बाढी, पहिरो र कटानका कारण समस्या उत्पन्न हुँदै आएको छ ।

विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ । गत साल बगाएको सो सडक मर्मतको काम नसकिँदा समस्या भएको हो ।

राजमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। लामो दूरीका सार्वजनिक यातायात, मालवाहक सवारी तथा निजी गाडीहरू काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकामा रोकिएका छन् ।

प्रहरीले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ। थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।