घान्द्रुक । पर्यटकीय गाउँ घान्द्रुकमा निर्माणाधीन चक्रीय पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । पर्यटकको बसाइ लम्ब्याउने र छोटो दूरीको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको पदमार्गको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ का अनुसार समितिको पहलमा तीन वर्षअघि सुरु गरिएको परियोजनामा यस वर्ष नेपाल पर्यटन बोर्ड को २० रूपैयाँ लाख बजेटबाट थप काम भइरहेको छ । निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारसँगै स्थानीय दाताको पनि सहयोग रहेको छ ।
चक्रीय पदमार्ग अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान र डाँडागाउँ हुँदै पुनः बसपार्कमा आएर टुङ्गिनेछ । गाउँमाथिको वन क्षेत्र हुँदै जाने मार्गमा विश्रामस्थल, चौतारी तथा उद्यान निर्माणसमेत भइरहेको छ ।
घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङ ले चक्रीय पदमार्ग छोटो दूरीको हाइकिङका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनका अनुसार घान्द्रुकमा बास बसेका पर्यटकले बिहान सूर्योदय अवलोकनसँगै पदयात्रा गर्न सक्छन् । गाउँभन्दा अझ आकर्षक दृश्यावलोकन पदमार्गमा देख्न सकिने र प्रकृतिसँग रमाउन सकिने उनको भनाइ छ ।
गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको मेश्रम बराह मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मपर्यटनको सम्भावना समेत बढेको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरी मौलिक शैलीमा निर्माण भइरहेको पदमार्गमा हालसम्म झण्डै ५३ लाख रूपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । बलाचे र बुद्ध उद्यान निर्माणको काम पनि अगाडि बढाइएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्याय ले चक्रीय पदमार्गले घान्द्रुक पर्यटनमा नयाँ आकर्षण थपेको बताए । उनका अनुसार पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ भने आन्तरिक पर्यटन पनि फस्टाउँदै गएको छ । अहिलेको याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक घान्द्रुक पुगेका छन् ।
सडक पहुँच विस्तार, व्यवस्थित पर्यटकीय पूर्वाधार तथा अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी जोड्ने पदमार्गका कारण घान्द्रुक पर्यटकको रोजाइमा पर्दै आएको छ । पर्यटकीय याममा दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक पुग्ने घान्द्रुकमा हाल रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् । आठ सयभन्दा बढी कोठासहित यहाँ पर्यटन क्षेत्रमा अर्बौँको लगानी भइसकेको छ भने सयौँले रोजगारी पाएका छन् ।
तर बढ्दो व्यवसायीकरणसँगै गाउँको मौलिकता हराउने चिन्ता पनि स्थानीय र पर्यटन व्यवसायीमा बढ्दो छ । आधुनिक संरचना, सडक विस्तार र बदलिँदो जीवनशैलीले गुरुङ समुदायको कला, संस्कृति तथा परम्परागत स्वरूप प्रभावित हुँदै गएको स्थानीयको गुनासो छ । प्रकृति र संस्कृतिको सङ्गम मानिने घान्द्रुकमा पर्यटन विस्तारसँगै मौलिक पहिचान जोगाउने चुनौती थपिएको छ ।

















प्रतिक्रिया दिनुहोस्